© २०२३
काठमाडौँ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुधबार विशेष अदालतमा बयान दिन पुगे। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक अपचलन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि नेपाल अदालतमा उपस्थित भएका हुन्।
अख्तियारले उनीसहित अन्य पूर्वपदाधिकारीहरूलाई प्रतिवादी बनाएपछि उनकाे संघीय सांसद पद निलम्बनमा परेको छ। सामान्यतया, यस्ता अवस्थामा पार्टीले कार्यवाहक अध्यक्ष तोकेर नेतृत्व सञ्चालन गर्ने चलन रहँदै आएको भए पनि नेपालले अहिलेसम्म यस्तो कुनै निर्णय लिएका छैनन्।
मुद्दा दायर भएको १९ दिन भइसक्दा पनि उनले पार्टी नेतृत्व आफैँ सम्हालिरहेका छन्। बुधबार अदालतमा बयान दिन जाँदा पनि उनले अध्यक्ष पद आफैँसँग राखेका थिए। पार्टीका एक पदाधिकारीका अनुसार, नेपाल कार्यवाहक तोक्न हतारिएको देखिँदैनन्।
ती पदाधिकारीले भनेका छन्, “कार्यवाहक तोकेर मात्र के हुने? संसद्ले उहाँलाई निलम्बन गर्यो भने पनि पार्टीले अध्यक्षको रूपमा अझै विश्वास राखिरहेको छ। त्यसैले कार्यवाहकको खाँचो नै छैन भन्ने माधव कमरेडको बुझाइ छ।”
यसबाट स्पष्ट हुन्छ, मुद्दा लागेपनि माधव नेपाल नेतृत्वबाट पछाडि हट्ने मनस्थितिमा छैनन्। अदालतको अन्तिम निर्णय नआउन्जेल पार्टीको दैनिक गतिविधि उनकै निर्देशनमा चल्ने देखिन्छ।