© २०२३
सुर्खेत,११ असार ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले पूर्वाधार निर्माण र सामाजिक विकासलाई मुख्य आधार माने बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चार अर्ब ३८ करोड बजेट ल्याएको वीरेन्द्रनगरले ‘हाम्रो सहर समृद्ध वीरेन्द्रनगर बनाउने रहर’ भन्ने नारालाई अघि सारेको छ ।
नगरप्रमुख मोहनमाया ढकालले १७ औँ नगर सभामा प्रस्तुत गरिएको यो नीति तथा कार्यक्रमले नगरलाई उपमहानगरपालिकामा स्तरोन्नति गर्नेदेखि डिजिटल प्रविधिमार्फत नागरिक सेवालाई सहज बनाउने र दिगो विकासका आयामहरूलाई समेट्ने बहुआयामिक खाका अघि सारेको छ । नगरपालिकालाई उपमहानगरपालिकाको रूपमा विकास गर्न प्रदेश सरकारसमक्ष प्रक्रिया अगाडि बढाइसकेको नगरपालिका प्रमुख ढकालको भनाई छ । नेपाल सरकारको मापदण्डअनुसार नगरपालिकालाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार, जनसख्या र राजस्व पु¥याउन सफल भइसकेको उनले बताइन् । यो स्तरोन्नतिले नगरको विकास, बजेट र प्रशासनिक क्षमतामा गुणात्मक वृद्धि ल्याउने अपेक्षा रहेको उनको भनाई छ ।
उपत्यकाको खानेपानी समस्यालाई दिगो समाधान गर्न भेरी नदीको पानी लिफ्टिङ्ग प्रविधिमार्फत आयोजना अगाडि बढाउन सङ्घीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरूसँग सहकार्य गर्न ११ करोड ६० लाख म्याचिङ फन्डको व्यवस्था बजेटमा गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाको मर्मत सम्भार र विस्तार तथा खानेपानी प्रणाली सुधार गर्न वडा स्तरीय कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । चालु आर्थिक वर्षबाट सुरु भएका राजधानी केन्द्रित सहरी सौन्दर्यताका पूर्वाधार घण्टाघर पार्कलगायत अन्य पार्क एवं खुला क्षेत्र सजावट तथा पार्किङ स्थल निर्माण तथा विभिन्न वडामा सञ्चालित नगर महत्वका आयोजनालाई क्रमागत आयोजनातर्फ २२ करोड ३४ लाख बजेट विनियोजन भएको छ ।
यस्तै, सहरी पूर्वाधारको विकास तथा विस्तारबाट सेवा, सुविधा र बजारमा पहुँच र उपयोग वृद्धि भई जीवनयापनमा सहजता ल्याउन विभिन्न आयोजना तथा कार्यक्रम सञ्चालन गर्न प्रत्येक वडामा कम्तीमा एक वडामा ५० लाखभन्दा ठुला नगर गौरवका पूर्वाधार आयोजना कार्यान्वयन हुनेछन् । नगरपालिकाले आगामी वर्षबाट नगरको यातायातलाई भरपर्दो सर्वसुलभ बनाउन नगर बस खरिद गरी सञ्चालन गर्न दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै, राजधानी केन्द्रित ट्राफिक लाइट, रोड मार्किङ, धर्म काँटा, चोक सुधार, फुटपाथ व्यवस्थापन, सिसी क्यामेरा, हाई मार्स लाइट, आइटी जोनलगायतका सहरी पूर्वाधार निर्माण गर्न १२ करोड बजेट व्यवस्थापन भएको छ । नगरपालिकामा नागरिकका तर्फबाट आएका मागलाई सम्बोधन गर्न पूर्वाधारतर्फ थप २९ करोड ७९ लाख बजेट व्यवस्थापन भएको छ ।
यस्तै नगरपालिकाले युवालाई रोजगारीमा जोड्न सूचना प्रविधिमा आधारित आइटी पार्कको अवधारणा अघि सारेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा सुर्खेतको प्रमुख पर्यटकीय स्थल घण्टाघर पार्कको दक्षिणतिरको क्षेत्रलाई आइटी पार्क निर्माण गरी खुला अध्ययन क्षेत्र तथा रोजगारीको केन्द्र बनाउने योजनाको घोषणा गरेकी हुन् । यसका लागि नगरपालिकालाई आधुनिक स्मार्ट समावेशी र दक्ष सेवा प्रदायक संस्थाका रूपमा विकास गर्दै आइटी हबमा स्थापित गर्न योजना बनाई कार्यान्वयन गरिने ढकालले बताइन् ।
ढकालका अनुसार ‘बिदेसिने युवा घटाउ स्वदेशमै रोजगारी बढाउ’ भन्ने नाराका साथ वैदेशिक रोजगारबाट फर्किएर कृषि व्यवसाय गरिरहेका वा गर्न चाहने युवाका लागि पुँजी तथा प्रविधिमा अनुदान उपलब्ध गराइने छ । ‘युवा जागौँ, उद्यम बढाऔँ’ नीतिअन्तर्गत युवामैत्री उद्यमशीलता कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिने नगर प्रमुख ढकालले बताइन् ।
नगरपालिकालाई डिजिटल नगरपालिकाका रूपमा रूपान्तरण गरी सम्पूर्ण प्रशासनिक प्रक्रियालाई डिजिटल बनाई फाइल ट्याकिङ सिस्टम, ई–दस्तावेज हस्ताक्षर प्रणालीको विकासमार्फत आन्तरिक तथा बाह्य पत्राचारमा डिजिटलमैत्री प्रयोगलाई थप व्यवस्थित गर्ने नीति नगरपालिकाले लिनेछ ।
वीरेन्द्रनगरको आगामी बजेटले पूर्वाधारको विकास तथा विस्तारबाट सेवा, सुविधा तथा बजारमा पहुँच र उपयोग वृद्धि, सहरी सौन्दर्यताका साथ जीवनयापन सुरक्षित र वातावरणमैत्री ढङ्गबाट सहजता ल्याउने उद्देश्य राखेको छ । नगरप्रमुख ढकालका अनुसार आगामी आर्थिक वर्षबाट महिला, दलित तथा अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित स्थानीय कच्चा पदार्थमा आधारित उद्यम तथा व्यवसायको व्यवसाय शुल्कमा २० प्रतिशत छुटको नीति लिइनेछ । नगरपालिकाभित्र कुनै पनि सरकारी संरचना निर्माण गर्दा अनिवार्य अपाङ्गतामैत्री संरचना निर्माण गर्नुपर्ने, निजीक्षेत्र वा वैयक्तिक प्रयोजनका लागि बनाएमा २५ प्रतिशत कर छुट दिइने उनले बताइन् ।
हिंसापीडित महिलाका लागि आश्रय दिन तथा उनीहरूको मनोबल उच्च बनाउन सेफ हाउस सञ्चालन तथा व्यवस्थापनतर्फ २० लाख बजेट व्यवस्थापन गरिएको छ । यस्तै, विकास प्रक्रियामा महिला, दलित, जनजाति, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा वृद्धि गरी अर्थपूर्ण सहभागिता गराउन, युवाहरूमा अनुशासन, सक्षमता, भविष्यप्रति संवेदनशीलताको विकासका लागि ७५ लाख बजेट व्यवस्थापन भएको छ । ‘सेवाग्राही लाइनमा हैन, अनलाइनमा’ भन्ने नीतिलाई कार्यान्वयन गर्न एकीकृत डिजिटल सेवा प्रवाह प्रणाली लागू गरिने नगरप्रमुख ढकालको भनाइ छ । उक्त प्रणालीमार्फत नागरिकले घरबाटै कर तिर्ने, सिफारिस लिने र अन्य नगरपालिकासँग सम्बन्धित सेवाहरू प्राप्त गर्न सक्नेछन्, जसले समयको बचत र प्रशासनिक झन्झटको अन्त्य गर्ने उद्देश्य राखिएको छ ।
यस्तो छ सुर्खेतका नौ वटा स्थानीय तहको बजेट
सुर्खेतका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाका नौ स्थानीय तहले कुल ९ अर्ब ७२ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । सुर्खेतमा पाँच नगरपालिका र चारवटा गाउँपालिका रहेका छन् ।सबैभन्दा बढी बजेट प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट चिंगाड गाउँपालिकाको छ । वीरेन्द्रनगरले ४ अर्ब ३८ करोडको बजेट प्रस्तुत गर्दा चिंगाडले ४० करोड ८६ लाखको बजेट ल्याएको छ ।
यस्तै गुर्भाकोट नगरपालिकाले १ अर्ब १ करोडको बजेट ल्याएको छ भने भेरीगंगा नगरपालिका—८० करोड २५ लाख, लेकवेशी नगरपालिकाले ६१ करोड ५१ लाख र पञ्चपुरी नगरपालिकाले ६९ करोड ११लाख बजेट ल्याएको छ । चौकुने गाउँपालिकाले ५७ करोड ३० लाख,सिम्ता गाउँपालिकाले ६१ करोड ७५ लाख र बराहताल गाउँपालिकाले ६३ करोड ७ लाख बजेट ल्याएका छन् ।