© २०२३
काठमाडौँ ।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग हाल करिब साढे १६ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको छ। यो रकम सुन र गाडी बाहेकका सम्पत्तिहरूको मूल्य हो।
गभर्नर पदमा नियुक्त भएपछि पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। विवरणअनुसार उनको नाममा घरजग्गा, सेयर लगानी, नगद तथा बैंक खाताहरू छन्।
पौडेलले ६ वटा बैंक खातामा बचत राखेका छन्, जसमा दुई वटा डलर खातासमेत छन्। डलर खातामा करिब ४ हजार ५ सय १६ अमेरिकी डलर छन् भने बाँकी खातामा कुल बचत करिब २६ लाख ८६ हजार रुपैयाँ रहेको छ।
उनका तीनवटा बैंक खाता आफ्नै नाममा छन् भने तीनवटा प्रतिभा शर्माको नाममा छन्। बैंक खातामा रहेको सम्पूर्ण रकम उनले आफैंले आर्जन गरेको बताएका छन्।
प्रतिभा शर्माको नाममा ललितपुरको सैँबु र नवलपरासी गैँडाकोटमा घरजग्गा रहेको जानकारी पनि दिइएको छ।
पौडेल ६ कम्पनीका संस्थापक लगानीकर्ता हुन्, जसमा सानिमा बैंक, सानिमा मिडल तमोर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चिवन इनर्जी रहेका छन्। ग्लोबेकोमा प्रतिभा शर्माको नाममा पनि लगानी गरिएको छ।
उनले सनिमा माई हाइड्रोपावर संस्थापक सेयरलाई सर्वसाधारणमा रूपान्तरण गरिसकेको पनि उल्लेख छ।
पौडेलले सबै सम्पत्तिको स्रोत पैतृक र स्वआर्जन भएको दाबी गरेका छन्।
उनसँग १५ लाख रुपैयाँ बराबरको हिरा छ, भने उनले ४५ तोला सुनको मूल्य सार्वजनिक गरेका छैनन्। साथै, उनको नाममा सुजुकी कम्पनीको चार पाङ्ग्रे गाडी पनि रहेको छ।