© २०२३
बुटवल, ११ असार ।
पाल्पाको निस्दी गाउँपालिकाका स्थानीय अहिले अम्रिसोको बगान बढाउनमा लागेका छन् । उनीहरूले कबुलियती वन क्षेत्रमा सामूहिक रूपमा अम्रिसो रोपण गरी अम्रिसोको क्षेत्र बढाउनमा सघाइरहेका हुन् । त्यस कार्यका लागि निस्दि सब डिभिजन वन कार्यालय, पाल्पाले कबुलियती वन समूहहरूलाई प्रोत्साहन स्वरूप प्रति अम्रिसोको बिरुवा बापत ७ रुपियाँ उपलब्ध गराएको छ ।
१३ वर्षअघि गाईबस्तु चर्ने पाल्पाको निस्दी ३ को उजाड देखिने निस्दीको काउले डाँडा अहिले अम्रिसोको बगानका कारण लोभलाग्दो बनेको छ । जुन डाँडामा अहिले पर्यटक रमाउँदै घुमिरहेका भेटिन्छन् । उक्त क्षेत्रलाई गाउँलेहरूको चरिचरन क्षेत्रको रूपमा प्रयोग गर्दै आएका थिए । डिभिजन वन कार्यालय पाल्पाका अनुसार झिर वासमा २०६७ सालमा ९ वटा कबुलियती वन समूहका १०३ घर परिवारबाट सुरु भएको अम्रिसो खेतीले ‘हरित क्रान्ति’ नै ल्याएको छ । समुदाय जाग्ने हो भने उजाड डाँडामा हरियाली बढाउन र स्थानीयलाई आम्दानी गराउन सकिन्छ भन्ने उदाहरण निस्दीमा पुग्दा देख्न सकिन्छ ।
अम्रिसोले आम्दानी दिएपछि त्यस क्षेत्रका स्थानीय अम्रिसो खेतीप्रति आकर्षित छन् । उनीहरूले बर्षेनी कबुलियती वन र आफ्नो निजी जमिन क्षेत्रमा अम्रिसो खेती बिस्तार गरिरहेका छन् । सब डिभिजन वन कार्यालयका अनुसार हिजो आज निस्दीका १२ वटा कबुलियती वन समूहले झन्डै २ लाख अम्रिसोका बिरुवा लगाइसकेका छन् ।
त्यसरी अम्रिसोको बिरुवा रोपण गर्नेमा झिरुवास कबुलियती वन समूह निस्दी ६ ले १२ हेक्टरमा ४० हजार बिरुवा, लाकुरी डाँडा कबुलियती वन समूह निस्दी ४ ले ४ हेक्टरमा १२ हजार, खोप्लाक कबुलियती वन समूह निस्दी ४ ले ३.५ हेक्टरमा १० हजार, चुलिडाडा कबुलियती वन समूह निस्दी ७ ले ७ हेक्टरमा २१ हजार ५ सय बिरुवा लगाएका छन् । त्यसैगरी शिरबुक कबुलियती बन समूह निस्दी ४ ले ३.५ हेक्टरमा १० हजार, बल्या छहरा कबुलियती वन समूह निस्दी ४ ले ४ हेक्टरमा १२ हजार, झिरुवन कबुलियती वन समूह निस्दी ३ ले ८.५ हेक्टरमा २५ हजार, काउलेडाडा सहकारी मार्फत ८ हेक्टरमा २० हजार, तिनपोखरी कबुलियती वन समूह निस्दी ४ ले २ हेक्टरमा ६ हजार बिरुवा रोपेका हुन् ।
डिभिजन वन कार्यालय पाल्पाले प्रति अम्रिसोको बिरुवा ७ रुपियाँ उपलब्ध गराएको छ । रोपणमा समूहका सदस्यहरूले श्रमदान गरेका छन् । त्यसैगरी निसानी देवी सामुदायिक वनले पनि करिव ६ हजार तेजपात र कृतिका डाँडा कबुलियती वन समुहले ४ हजार ८ सय तेजपात रोपेका छन् । वन कार्यालयले निजी आवादीका लागि समेत करिब १० हजार बिरुवा पुनरोपणका लागि बिरुवा वितरण गरेको छ । वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको समन्वयमा घैयाडाडा कबुलियती बन समूह निस्दी ६ अर्चलेले ५ हेक्टरमा १६ हजार ६६५ अम्रिसोको बिरुवाको रोपिसकेको छ ।
समूहबाट सुरु भएको उक्त क्षेत्रमा अहिले १९ वटा समूह पुगेका छन् । जहाँ २३९ घरपरिवारले २५६ हेक्टर क्षेत्रफलमा ७ लाख ४२ हजार ५ सय अम्रिसोको बिरुवा रोपण गरेका छन् । अम्रिसोको बिरुवा किसानको खेतबारीका कान्ला र पाखोसम्म फैलिएको छ ।
निस्दी गाउँपालिकामा मात्रै झिरबास, मित्याल, ज्यामीरे र अर्चले गरी अम्रिसोका चार वटा पकेट क्षेत्र छन् । ती चार वटा अम्रिसोको पकेट क्षेत्रमा ७१ समूहमा ७०६ घरपरिवार कबुलियती बन समूहको सदस्य छन् । ती घरपरिवारले कबुलियती वनको ७१२.३३ हेक्टर क्षेत्रमा अम्रिसो लगाएका छन् । काउलेडाडा अन्तर समूहको अध्यक्ष दमन पाटा मगरले अम्रिसोको कुचो बिक्री गरी प्रति घरपरिवारले वार्षिक एक लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताउँछन् ।
उनका अनुसार मगर जातीको बाहुल्यता रहेको पाल्पाका ग्रामीण क्षेत्रमा अम्रिसो मुख्य आम्दानी बनिरहेको छ । उक्त समूहले गत तीन वर्षको अवधिमा मात्रै ३ करोड २६ लाख ११ हजार ४७७ रुपियाँ आम्दानी गरेका छन् । निस्दीमा यो वर्ष थप २१ वटा कबुलियती वन समूह थपिने प्रक्रिया सुरु भएको निस्दी सब डिभिजन कार्यालय, मिल्यालका प्रमुख नन्द अधिकारीले जानकारी दिए ।
नन्द अधिकारी
प्रमुख, निस्दी सब डिभिजन कार्यालय, मिल्याल, पाल्पा
निस्दीको झिरबास, मित्याल, ज्यामीरे र अर्चले गरी अम्रिसोका चार वटा पकेट क्षेत्रका ७१ समूहमा ७०६ घरपरिवार कबुलियती बन समूहको सदस्य छन् ।
ती घरपरिवारले ७१२.३३ हेक्टर क्षेत्रमा लगाएको अम्रिसोले तीन वर्षको अवधिमा ३ करोड २६ लाख ११ हजार ४७७ रुपियाँ आम्दानी गरेका छन् । अम्रिसोका बोटले रुपियाँ फलाएपछि अहिले २१ समूह थपिने प्रक्रियामा छन् ।
निस्दीका स्थानीयले कबुलियती वनमा मात्रै नभई बारीका कान्ला र पाखो पखेरोमा समेत अम्रिसो रोपेका छन् ।
पाखो डाँडाँमा अहिले हरियाली छाएको छ । इलामको चिया बगान जस्तै यहाँको अम्रिसोको बगानले पर्यटनको अभ्यास सुरु भएको छ । हरियाली प्रवर्धन र भूक्षयको अभ्यास सिक्न खोज्नेहरू यहाँ आउने गरेको दमन पाटा मगरले बताए । उनले भने, डाँडामा हरियाली भएका कारण पानीको स्रोत संरक्षणमा समेत निकै फाइदा पुगेको छ ।
निस्दी सब डिभिजन कार्यालय, मिल्यालका प्रमुख नन्द अधिकारी भूक्षय रोकथाम, हरियाली प्रवर्धन र पाखो क्षेत्रबाट आम्दानी लिनका लागि अम्रिसो खेती निकै फलदायी देखिएको बताउँछन् । अधिकारीले अम्रिसो खेती प्रविधि, फेरिएको वातावरणीय पक्ष, हुर्किदै गरेको पर्यटन विकास, जमिनको उपयोगिता, सामुहिक कार्य, स्थानीयको आम्दानी र बजारीकरणका अभ्यास अरू ठाउँका लागि अनुकरणीय भएको बताए । यो हरित वृद्धि र जलवायु उत्थानशीलता बढावा दिने कार्यको स्थानीय सामुदायिक अभ्यासको उदाहरण हो अधिकारीले भने । निस्दी गाउँपालिकाको झिरबास, मित्याल, ज्यामिरे र अर्चले मुख्य पकेट क्षेत्र निस्दी सब डिभिजन कार्यालय, मित्यालले हेर्ने गर्दछ ।
२०६७ सालबाट सुरु भएको अम्रिसो खेती अहिले पाल्पाका धेरैजसो गाउँमा विस्तार भएको छ । यसरी हरियाली प्रबर्धन हुँदा पाल्पाको अम्रिसोले निकै ठुलो चर्चा पाएको छ । कवुलियती वनमा पहिलो वर्ष २०६७ सालमा १०२ हेक्टरमा अम्रिसो रोपण गरिएको थियो । जिल्लामा वर्षेनी अम्रिसो रोपण अभियानका रूपमा विस्तार हुँदा अम्रिसो रोपणको क्षेत्रफल बढेर गएको छ । पाल्पा जिल्लामा अम्रिसो रोपण २०७० सालमा वृद्धि भएर ४११.३१ हेक्टर, २०७५ सालसम्म ८७६.८१ हेक्टर र २०८१ सम्म १३९८.२७ हेक्टर क्षेत्रफल पुगेको छ । ९ समूहबाट सुरु भएको अम्रिसो खेतीमा अहिले १५३ समूहका १९२० घरधुरीमा १३ हजार ७५ जना सदस्य आबद्ध छन् ।
अम्रिसो अभियन्ताको रूपमा चिनिएका दमन पाटा मगरका अनुसार सुरुवादी चरणमा अम्रिसो खेतीका लागि एक घरले एक महिना र एक घरले तीन हजार अम्रिसोको गाँज रोपेका थिए । उनले अम्रिसोले डाँडा हरियाली भएको हुँदा त्यस क्षेत्रमा वर्षा पनि धेरै पर्ने गरेको सुनाए । त्यसको प्रमाण डाँडा मुनिका खोल्साका पानीका मुहान नसुकेको उनको भनाइ छ । अम्रिसोले पूर्वी पाल्पाको चिनारी नै बदलिएको र काउलेडाडा एसियाको सबैभन्दा ठुलो अम्रिसोको क्षेत्रको रूपमा विकास भएको पाटा दाबी गर्छन् । हरियाली प्रवर्धनमा उदाहरणीय काम गरेको भन्दै यहाँको कवुलियतीव वन समूहलाई २०६९ सालमा नेपाल सरकारको वन मन्त्रालयबाट दुई लाख रुपियाँ सहित परिवर्तित विकास पुरस्कार पाएको थियो ।