© २०२३
चन्द्रौटा(कपिलवस्तु), ११ असार । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि कुल ६६ करोड ४८ लाख ४६ हजार ७ सय २७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको दोस्रो अधिवेशन तथा सातौँ (वर्षे) अधिवेशनबाट सर्वसम्मत रूपमै नीति तथा कार्यक्रमहरू पारित गर्दै बजेट प्रस्तुत गरिएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले मंगलबार नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दै बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाईन् । विकासका योजनालाई प्राथमिकतामा राख्दै पारदर्शिता र सहभागितामूलक शासन प्रणालीलाई मजबुत बनाइने उनको भनाई छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले समृद्ध गाउँपालिका निर्माणका लागि चौतर्फी विकासलाई समानुपातिक ढंगले अघि बढाइने उल्लेख गरे । पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा विशेष प्राथमिकता दिँदै अघि बढ्ेको अध्यक्ष थापाले बताए ।
प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालका अनुसार बजेटसँगै विनियोजन विधेयक र आर्थिक विधेयक पनि गाउँसभामा पेश गरिएको छ । बजेटले गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे ।