© २०२३
काठमाडौँ ।
गर्मी बढेसँगै अण्डाको उत्पादन घट्नुका साथै मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। व्यवसायीहरूले भने अनुसार, गर्मीको मौसममा कुखुराले कम दाना खाँदा अण्डा उत्पादन घट्ने गर्दछ भने माग भने बढिरहेकाले मूल्य तानिएको हो।
चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डा. अनन्त दाहालले यसलाई गर्मीको प्रभावले कुखुराको आहार घट्नुसँग जोडेर व्याख्या गरेका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले पनि उत्पादन घटेकाले माग धान्न गाह्रो भएको बताउनु भयो।
सङ्घले मूल्य वृद्धिका लागि नयाँ समर्थन मूल्य निर्धारण गरेको छ। चितवनका फार्महरूमा अहिले ठूलो आकारको अण्डाको प्रतिक्रेट मूल्य ४८० रुपैयाँ र मझौला अण्डाको प्रतिक्रेट ४५० रुपैयाँ कायम गरिएको छ, जुन दुवैमा ३० रुपैयाँले वृद्धि भएको हो।
पोखरेलका अनुसार चार महिनाअघि दैनिक उत्पादन ४० हजार कार्टुनसम्म पुग्थ्यो भने हाल यो संख्या २८ देखि ३० हजार कार्टुनमा झरेको छ।