© २०२३
किसानले उत्पादन गरेको डेढ लाख टन चैते धान बिक्री नभएको तथ्याङ्क कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै सार्वजनिक गरेको छ । कृषि प्रधान देश नेपालका लागि यो भन्दा विडम्बना अरू के हुन सक्छ ? हामीले एकातिर चालु आर्थिक वर्षमा करिब ४० अर्ब माथिको धान–चामल भारतबाट आयात गरेका छौँ तर नेपालका किसानले उत्पादन गरेको चैते धान खरिद गर्दैनौँ । नेपाल सरकारले किसानबाट धान खरिद गरी विक्रीको व्यवस्था किन गर्दैन ? सोचनीय विषय छ । आफ्नो देशमा उत्पादन भएको धान बिक्री नहुने र भारतबाट निरन्तर धान–चामल आयात गर्नु कस्तो विडम्बना हो ? नेपाल सरकार यो गम्भीर विषयमा किन कानमा तेल राखेर सुतेको छ ? कृषि मन्त्रालयका सम्बद्ध अधिकारीहरूले किसानले उत्पादन गरेको धान खरिद गर्ने व्यवस्था गरोस् ।
कृषि व्यापार कम्पनी लिमिटेडले यो विषयमा ध्यान दिनु जरुरी छ । यदि अवस्था यसै गरी जाने हो भने नेपालको कृषिमा आत्मनिर्भर हुने सपना सपनामै सीमित रहने कुरा निश्चित छ । होइन भने नेपाली कृषकले उत्पादन गरेको धान तत्काल खरिद गरियोस् । यसमा नेपाल सरकारले सहजीकरण गर्नु जरुरी छ । त्यसै पनि नेपालका किसानहरूको समस्या समाधानमा सरकारले बेवास्ता गर्दै आएको छ । यो सरकार मात्रै होइन, यसअघिका सरकारले पनि किसानको समस्या नजरअन्दाज गर्ने प्रवृत्ति थियो । नेपाललाई कृषि प्रधान मुलुक भनिए पनि पछिल्लो समय यो नारा हराउँदै गएको छ । कृषकको उचित सम्मान छैन । कृषक भन्नासाथ पिछडिएको, गरिब र विपन्न भनेर बुझ्ने गरिएको छ । कृषकहरूका लागि प्रोत्साहनको नीति सरकारले ल्याउन सकेको छैन ।
भारतबाट वार्षिक अर्बौँको धान चामल खरिद गर्ने सरकारले नेपाली माटोमा उत्पादन गरिएको धान खरिद गर्न आनाकानी गर्नु साँच्चै दुःखद कुरा हो । सरकारको नारा छ– कृषि पेसाको प्रवर्द्धन गर्दै निर्वाहमुखी कृषिबाट आत्मनिर्भर बन्नेतर्फ प्रयास गरौँ । तर यो नारा एकातिर काम अर्कोतिर हुँदै आएको छ । सरकारले कृषिलाई हेयको पेसाको रूपमा लिँदै आएको छ । त्यही भएर हरेक महिना लाखको हाराहारीमा युवाहरू विदेशी भूमिमा पसिना बगाउन विदेश उडिरहेका छन् । तिनैले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ । कृषकका लागि आएको अनुदानमा बिचौलियाहरूको हाबी छ । युवालाई कृषिमा जोड्ने कुरा सरकारको नीति तथा कार्यक्रम र बजेटमा पर्दैन ।
सरकार कृषि क्षेत्रको विकासमा जति ध्यान दिनुपर्ने हो, त्यसमा चुकेको छ । आफ्ना खेतबारी बाँझो राखेर विदेशीको भूमिममा जानु युवाका लागि रहर होइन बाध्यता हो । सरकारले चासो र चिन्ता लिने हो भने नेपालले कृषिबाटै आर्थिक क्रान्ति गर्न सक्छ । नेपालको तरकारीदेखि अन्नको माग खाडी मुलुकमा ठुलो छ । कृषि उत्पादन नियार्त गर्ने सम्भावना छ तर ती सम्भावनाका विषयमा सरकार कहिल्यै सकारात्मक भएन । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको नयाँ बजेटमा पनि कृषि क्षेत्रको प्रवर्द्धनका लागि, कृषकहरूको जीवनमा कायापलट गर्ने ठोस कार्यक्रम सार्वजनिक गर्न सकेन । अनि कहाँबाट हुन्छ नेपालमा कृषि क्रान्ति ? उल्टो नेपाली किसानले उत्पादन गरेको धान विक्री नहुने अवस्था छ । यो नेपालका लागि साँच्चै विडम्बना हो ।
सायद सतिले सरापेको देश यस्तै कारणले भनिएको होला । किसानका नाममा आएको अनुदानमा व्यापक दुरुपयोग भएको समाचार सार्वजनिक भयो । सरकारले त्यसमा कुनै पनि छानबिन समिति बनाएर दोषीलाई कारबाही गरेन । उल्टो अनुदानको दुरुपयोग गर्नेहरू देशमा हालीमुहाली गरिरहेका छन् । जेहोस चैते धान विक्री नभएको कुरा सार्वजनिक भएको छ । किसानको चैते धान सरकारले खरिद गरोस् । भारतबाट अर्बौँको धान चामल आयात गर्नुभन्दा नेपालको उत्पादनलाई प्रोत्साहन गरियोस् ।