© २०२३
काठमाडौं ।
भारतको सहयोगमा इरानबाट थप सात नेपाली बुधबार स्वदेश फर्किँदैछन् । इरानको मसहद अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो चार जना र अपराह्न थप तीन जना फर्कने तयारीमा रहेको जानकारी त्यहाँका एक नेपालीले अनलाइनखबरलाई दिएका छन् ।
दिउँसो दिल्ली हुँदै फर्कनेहरूमा सागर पौडेल, बुद्धि भुसाल, गायत्री कार्की र उनका छोरा उत्सव थापा रहेका छन् भने यज्ञ मरासिनी, राजु खनाल र विष्णुप्रसाद भुसाल साँझ फर्कनेछन् । मंगलबार नै फर्किने तयारी भए पनि एक्जिट परमिट नहुँदा उनीहरू रोकिएका थिए । पहिले नै एक्जिट परमिट पाएका बुटवलका सुमन गैरे र गणेश पोखरेल मंगलबार नै स्वदेश फर्किसकेका थिए । दिल्लीस्थित नेपाली दूतावासले उनीहरूलाई विमानस्थलमा स्वागत गरेको थियो ।
भारतीय दूतावासको सहयोगमा उद्धार गरिएको यी नेपालीहरू बसेको स्थानबाट बसमा सवार भएर मसहद विमानस्थल पुगेका थिए । फिर्ता हुने नेपालीहरूमा केही दूतावासमा, केही रेस्टुरेन्टमा काम गर्दै आएका नागरिक छन् । सरकारले इजरायलमा रहेका नेपालीलाई पनि उद्धार गर्ने तयारी गरिरहेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले शुक्रबार भएको संयुक्त बैठकमा इजरायल र इरानमा जारी युद्धको परिस्थिति र तयारीबारे छलफल गर्दै दुवै देशबाट नेपाली उद्धार गर्ने तयारी भइरहेको जानकारी दिएकी थिइन् ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली नागरिक छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानले आणविक बम बनाउन थालेको भन्दै त्यसविरुद्ध सैनिक कारबाही सुरु गरेको घोषणा गरेका छन् । इरानले अन्तर्राष्ट्रिय आणविक अप्रसार सन्धिको उल्लंघन गरेको नेतन्याहूले बताएका छन् ।
ओमानमा अमेरिका र इरानबीच नयाँ आणविक वार्ताका बीच इजरायलले आक्रमण गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट अमेरिका फिर्ता भएपछि इरानको आणविक कार्यक्रम तीव्र गतिमा बढेको थियो । पछि अमेरिका र इरानबीच तनाव बढेको थियो र कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले हवाई आक्रमण गरेको थियो । त्यसको केही घन्टापछि अमेरिकाको मध्यस्थतामा इजरायल र इरानबीच युद्धविराम भएको थियो ।