Butwal Today

नेप्से परिसूचकमा सामान्य गिरावट

११ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य रुपमा स्थिर रह्यो। मंगलबार ०.२२ अंकले घटेको नेप्से बुधबार थप ०.३३ अंकले घटेर २६००.२० मा आइपुगेको छ। बजारमा यो सामान्य उतारचढावसँगै कारोबार रकममा पनि खासै सुधार देखिएन। लगानीकर्ताहरु आगामी आर्थिक वर्षको मौद्रिक नीति र सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणको प्रतिक्षामा छन्। नीति र विवरण आउनुपर्ने भएपछि उनीहरु सेयरमा नयाँ लगानी वा बिक्री निर्णय लिन सकिरहेका छैनन्।

बुधबार ३११ कम्पनीका १ करोड ३७ लाख ५९ हजार कित्ता सेयर ५ अर्ब ९४ करोड रुपैयाँ बराबर कारोबार भएको छ, जुन मंगलबारको ५ अर्ब ७६ करोडभन्दा केही बढी हो। सबैभन्दा धेरै कारोबार बुटबल पावर कम्पनीको ५३ करोड रुपैयाँ बराबर सेयरमा भएको छ।

समूहगत परिसूचकमा बैंकिङ, वित्त, लगानी, उत्पादन, माइक्रोफाइनान्स, अन्य र व्यापार समूह घटेका छन् भने विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बीमा समूहले बढोत्तरी देखाएका छन्। त्यसैगरी, ११२ कम्पनीका सेयर मूल्यमा वृद्धि देखियो, जसमा मोदी र तेह्रथुम हाइड्रोपावर कम्पनीको सेयर मूल्य लगभग १० प्रतिशतले वृद्धि भएको छ।