© २०२३
काठमाडौँ ।
कानुनमन्त्री अजय कुमार चौरसियाविरुद्ध गम्भीर आरोप लगाउँदै उनीलाई पदबाट निलम्बन गरी छानबिन गर्न माग गरिएको छ। नागरिक युवराज सफलले मंगलबार प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराउँदै चौरसियाले न्यायाधीशहरूलाई प्रभावमा पारी मोहम्मद अफताब आलमलाई सफाइ दिने प्रक्रियामा संलग्न भएको दाबी गरेका हुन्।
सफलको उजुरीमा भनिएको छ कि चौरसियाले आफ्नो पद, शक्ति, पैसा र पार्टीको पहुँच प्रयोग गरी आलमलाई जन्मकैद सजायबाट जोगाउन भूमिका खेलेका छन्। उजुरीमा विशेष रूपमा चौरसियाले “सेटिङ” गरेर सफाइ दिलाएको आरोप लगाइएको छ, साथै उनी बसेको होटलको सिसीटिभी फुटेज, तीन महिनाको फोन रेकर्ड र अन्य विवरण निकालेर आवश्यक छानबिन गर्न माग गरिएको छ।
सफलले कानुनमन्त्री चौरसियालाई निलम्बन गरी पक्राउ गर्न र उनीविरुद्ध हत्याकाण्ड, बमकाण्ड तथा आम नरसंहारका अभियुक्तको पक्षपोषण गरेको अभियोगमा मुद्दा चलाएर आजीवन कारावाससम्मको सजाय दिन माग गरेका छन्।
उनले भनेका छन्— यदि उक्त उजुरीमाथि सरकार गम्भीर नभए सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्नेछ।
गौरको कुख्यात बमकाण्डमा संलग्नता रहेर जिल्ला अदालत रौतहटबाट जन्मकैद सजाय पाएका आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो। सो इजलासमा न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जन थिए। यही सफाइको प्रक्रिया विवादमा तानिएको हो।
