© २०२३
दाङ, लमही ।
लमही नगरपालिकाको सरकारी गाडी दुर्घटनामा परेको घटनाले रहस्यको रूप लिँदै गएको छ । करिब एक महिना अघि ज्येष्ठ ११ गते राती घोराही–लमही सडक खण्ड अन्तर्गत मुसोटमा भएको उक्त दुर्घटनाको सत्य तथ्य अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । घटनामा संलग्न चालक र एक नगर प्रहरी निलम्बनमा परेका छन्, तर दुर्घटनाको वास्तविक कारण अझै अन सुल्झिएको छ ।
चालकको भनाइ : डाँगीलाई सहयोग गर्ने क्रममा भयो दुर्घटना
उक्त गाडीका चालक मधुसूदन केसीले पूर्व प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई नारायणपुर छोडेर फर्किने क्रममा दुर्घटना भएको बताउँछन् । ज्येष्ठ २० गते नगरपालिकाले मागेको लिखित स्पष्टीकरणमा उनले आफू थकित अवस्थामा घरमै आराम गरिरहेको बेला डाँगीको फोन आएपछि गाडी लिएर निस्किएको उल्लेख गरेका छन् ।
उनको भनाइमा, डाँगीको गाडी बेलदमारमा बिग्रिएको र त्यसपछि साथ दिँदै नारायणपुरसम्म पुर्याएर फर्किने क्रममा मुसोटमा सडकमा उभिएको पिकअप बचाउने प्रयास गर्दा सरकारी गाडी दुर्घटनामा परेको हो ।
नगर प्रहरीको भनाइ : जानकारी गराइएको होला भन्ने विश्वासमा गएको
गाडीमा सवार नगर प्रहरी जवान मङ्गलसिंह भण्डारीले भने आफू कार्यालयको कामकै लागि गाडीमा गएको ठानेको बताए । उनका अनुसार सवारी चालक केसीले काम छ भनेर लगेकाले पूर्व अनुभवका आधारमा उनी सिधै सवार भए । तर, उनले गाडी प्रयोगबारे आफूले पूर्व जानकारी लिएको थिएनन् भन्ने स्पष्ट पारेका छन् ।
पूर्व अधिकृत डाँगी विवादमा
घटनाका केन्द्रमा रहेका गेहेन्द्रबहादुर डाँगी लमहीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुन्, जो हाल तुलसीपुर उपमहानगरपालिकामा कार्यरत छन् । लमहीमा कार्यरत रहँदा उनी विवादित बनेका थिए । अधिकांश वडा अध्यक्षले कार्यालयमा हाजिरी नगर्न भन्दै डाँगीविरुद्ध धर्नासमेत दिएका थिए ।
राजनीतिक दल र स्थानीयको चासो, अनुसन्धानको माग
दुर्घटना भएको केही दिनमै स्थानीय राजनीतिक दल र नागरिकहरूले घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेका थिए । नेकपा एमाले लमही नगर कमिटीले विज्ञप्ति निकाल्दै सत्य तथ्य बाहिर ल्याउन जोड दिएको थियो ।
चालक र प्रहरी निलम्बन
नगरपालिकाको १६०औँ कार्यपालिकाको बैठकले चालक मधुसूदन केसीलाई तीन महिनाका लागि र नगर प्रहरी मङ्गलसिंह भण्डारीलाई एक महिनाका लागि निलम्बन गर्ने निर्णय गर्यो । प्रवक्ता मोहन गिरीका अनुसार स्पष्टीकरण र प्रारम्भिक अध्ययनको आधारमा कारबाही गरिएको हो ।
प्रहरी अनुसन्धानमाथि प्रश्न
नगरपालिकाले जिल्ला प्रहरी कार्यालय दाङलाई पत्राचार गरे पनि अहिलेसम्म न रिपोर्ट आएको छ, न त कुनै तथ्य सार्वजनिक गरिएको छ । प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले भने इलाका प्रहरी कार्यालय लमहीमा बुझ्न सुझाव दिएर जिम्मेवारी पन्छ्याउन खोजेको देखिएको छ ।
सरकारी गाडीको मध्यरातको रहस्यमय प्रयोग र त्यसपछिको दुर्घटनाले स्थानीय प्रशासनिक जबाफदेहितामा गम्भीर प्रश्न उठाएको छ । दोषीलाई कारबाही र यथार्थ सार्वजनिक गर्ने मागसँगै अनुसन्धान ढिलाइ हुनु आफैँमा शङ्का पैदा गराउने विषय बनेको छ ।