© २०२३
कपिलवस्तु, १० असार ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले लुम्बिनी प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम तथा बजेट प्रति असन्तुष्टि जनाउँदै काँग्रेसका प्रदेश मन्त्रीलाई कपिलवस्तुमा निषेध गरिएको छ ।
काँग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सम्पूर्ण मन्त्रीहरूलाई कपिलवस्तु जिल्लाको सार्वजनिक तथा पार्टीको कुनै पनि कार्यक्रममा सहभागी नगराउने जनाएको छ ।
पार्टीका जिल्ला सभापति अब्दुल कलामद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट विनियोजन भइसकेको अवस्थामा कपिलवस्तु जिल्लाको समग्र विकाश योजनाहरू हेर्दा न्यून रहेकोले सङ्घीयताको मर्म र भावना विपरीत पहुँचवाला / स्वयं मन्त्रीको क्षेत्र जिल्लामा मात्र बढी योजना रहेको देखिएकोले कपिलवस्तु जिल्लाको समग्र विकाश योजनालाई वेवास्ता गरेको तथा पार्टीको निर्णयलाई समेत नमानी आफ्नो मनोमानी गरेको आरोप लगाइएको छ ।
सोही कारण नेपाली काँग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सम्पूर्ण मन्त्रीहरूलाई कपिलवस्तु जिल्लाको सार्वजनिक तथा पार्टीको कुनै पनि कार्यक्रममा सहभागी नगराउने जनाइएको छ । पछिल्लो समय लुम्बिनी प्रदेश सरकारको बजेटमा काँग्रेसका मन्त्रीहरूले आफ्ना जिल्लामा मात्रै बजेट केन्द्रित गरेको भन्दै चरम असन्तुष्टि सार्वजनिक हुन थालेको छ ।