© २०२३
बाँके, १० असार ।
बजेटको अभावले नेपालगन्ज अन्तर्गत पर्ने सुर्खेत सडकको गतिलो मर्मत हुन सकेको छैन । नेपालगन्जको जमुनहादेखि हर्रे डाँडासम्म ६९ किलोमिटरमा रहेको सुर्खेत रोडमा बजेट अभावले मर्मत हुन नसकेको हो । आर्थिक वर्ष २०८१/०८२ मा ६९ किलोमिटर बाटो मर्मतका लागि ३ करोड ७५ लाख मात्र रहेको थियो । जसमा नेपालगन्ज देखि कोहलपुर चौराहासम्म १६ किलोमिटर सडक फोर लेन सडक रहेको छ ।
नेपालगन्जको जमुनाहा नाकादेखि सुर्खेतको हर्रेसम्म ६९ किलोमिटर सडकमा बजेट पर्याप्त नहुँदा टालो लगाउँदा लगाउँदै खाल्डै खाल्डो भएको छ । सरकारले सडक मर्मतका लागि हरेक वर्ष केही न केही रकम छुट्टाएकै हुन्छ तर सडकमा जुन खालको मर्मत गर्नुपर्ने हो त्यो अनुसार मर्मत नभए पछि जमुनहा देखि हर्रेसम्म नै बाटोमा खाल्डै खाल्डो भएको सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख नरेन्द्र भट्टले जानकारी गराए । सुर्खेत रोडमा जमुनहा देखि हर्रे सम्मै एक लेयरको कालोपत्रे गर्न पाए फेरी केही वर्षलाई ढुक्क हुने देखिन्छ तर बजेटको कमीले कमजोर ठाउँ निरीक्षण गरी मर्मत कार्य भइरहेको छ । अहिले नेपालगन्जको सुर्खेत रोड अन्तर्गत हल्दारपुर आसपास मर्मतको काम भइरहेको डिभिजन प्रमुख भट्टले जानकारी गराए ।
सुर्खेत रोड अन्तर्गत पर्ने हल्दारपुर र विभिन्न ठाउँमा मर्मत गर्नका लागि महात्रिपुरा पञ्चकोशी नागदेव निर्माण कम्पनीलाई टेन्डर परेपछि मर्मत कार्य गरिरहेका डिभिजन प्रमुख भट्टले जानकारी गराए । उक्त कम्पनीसँग एक करोड २४ लाखका मर्मत कार्य गरिरहेका छ । उनले भने, मर्मतका लागि विनियोजित भएका बजेट हरेक सबै खर्च गर्न सक्ने अवस्था आउँदैन विनियोजित रकमको करिब ६५ देखि ७५ प्रतिशत मात्र खर्च हुने गरेको छ ।
यता सडकमा खाल्डो हुँदै गएपछि बाटोमा सवारी चलाउँदा दुर्घटना हुने सम्भावना समेत बढ्दै गएको कोहलपुर नगरपालिका वडा नम्बर ६ का शङ्कर थारुले भने । सडक निर्माण हुँदा पहिला ठिकै थियो तर मर्मत गर्दागर्दै बाटोमा खाल्डै खाल्डो भएको छ । यसले यहाँ सवारी चलाउनेलाई कठिन भएको छ । बाटोको बारेमा थाहा नभएको कारण कहिलेकाहीँ सवारी चलाउनेलाई कठिन भएको कुरा आइराखेकै हुन्छ ।
यता पालिकाको बजेट कम भएको कारणले सुर्खेत रोडमा खर्च गर्न सक्ने अवस्था नरहेको कोहलपुर नगरपालिकाका अध्यक्ष पूर्ण प्रसाद आचार्यले जानकारी गराए । पालिकाको बजेटले वडाहरूमै बाड्ने र जनताको आधारभूत सेवा र निर्माण कार्यमै खर्च भएको कारणले उक्त बाटो कुनै लगानी गर्न सक्ने अवस्था हुँदैन । उनले भने, तर सुर्खेत रोडमा महिनै पिच्छे दुर्घटना भएर मानिसहरूको मृत्यु हुने गरेको छ जसमा धेरैजसो सडकमा भएको खाल्डा खुल्डीका कारणले भइरहेको छ । यसलाई सरकारले हरेक वर्ष मर्मत गर्नु भन्दा एकै वर्ष उपयुक्त बजेट विनियोजित गरेर भन्सार देखि हर्रे सम्म एक लेयरको कालो पत्रे थपेपछि दीर्घकालीन टिकाउ हुने देखिन्छ । हरेक वर्ष बाटो मर्मत गरेर खाल्डाखुल्डी बढ्ने भएको कारणले दुर्घटना हुँदै आएको छ ।
बेलाबेला बाटोमा टालो लगाउँदै गएपछि बाटोको गुणस्तरमा कमी आउनुको साथै दुर्घटना समेत निम्त्याउँदै आएको छ । निर्माणकै क्रममा हल्दारपुरमा मर्मत गर्नका लागि खनिएको बाटोमा दुर्घटना भएर एक जनाको मृत्यु समेत भएको थियो । यता बजार क्षेत्रमा निर्माणको कार्य भएको कारणले समेत बाटोमा खाल्डो बढ्दै गएको छ । बजार क्षेत्रमा बाटो मर्मत गर्नुभन्दा पहिला अन्य कार्य हुँदैन र बाटो मर्मत भएपछि अन्य मर्मत भएको कारणले खाल्डो बढ्दै गएको छ ।