© २०२३
चन्द्रौटा, १० असार ।
सुमिरन थारु शुक्रबार कपिलवस्तुको विजयनगर गाउँपालिकाको कार्यालयमा भेटिए । त्यहाँ पुग्दा उनी निकै खुसी र उत्साहित देखिन्थे । त्यहाँ थारुको ह्विलचियरमा चढ्ने सपना पूरा हुँदै थियो । “अपाङ्गता भएर जिउन गाह्रो छ । तर क्षमता छ अवसर पाउँदैन । फेरि सोच्छु कमलको फूल हिलोमै त फूलेको हुन्छ, निकै सुन्दर देखिन्छ ।” गाउँपालिका वडा नम्बर–१ नौडिहवा गाउँका थारुले भने ।
यस्तै अर्का स्थानीय अजय यादवले अपाङ्गलाई दया होइन, अधिकार चाहिएको बताए । समाजले हेर्ने दृष्टिकोण सकारात्मक बनाउन आग्रह गर्दै आफूले पनि अवसर पाए समाजमा सराहनीय योगदान गर्न सक्ने उनको जिकिर थियो । अपाङ्गता भएकोले सपाङ्गसरह काम गर्न क्षमता रहेको यादव बताउँछन् । स्वतन्त्र भएर जिउने अधिकारबाट वञ्चित नगर्न सबैको सहकार्य जरुरी रहेको उनले बताए ।
गाउँपालिकाले विशेष सहयोग मार्फत ८८ जनालाई नागरिक सहयोग सामग्रीसहित स्वरोजगारका लागि सिलाई मेशिन वितरण गरेको छ । ‘सहारा र आत्मनिर्भरताको उज्यालो’ कार्यक्रम अन्तर्गत ५७ जना अपाङ्गता सहायक सामग्री र ३१ जना महिलाहरूलाई मेशिन वितरण ग¥यो ।
ह्विलचियर, सेतो छडी, चस्मा, इयरफोन र तीन पाङ्ग्रे साइकलजस्ता सामग्री वितरण गरिएको हो । गाउँपालिकाका अनुसार सामग्रीले अपाङ्गता व्यक्तिहरूको दैनिकी सहज बनाउने र उनीहरूलाई आत्मनिर्भरतर्फ डो¥याउने छ ।
महिलाले पाएको सिलाई मेसिनले स्वरोजगारको बाटो खोल्ने स्थानीय भूमिका खन्गाहा भनिन् ‘अब अरूको भर पर्नु पर्दैन । आफ्नै हातले कमाउने बाटो खुलेको छ ।’
यता गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता पहिचान गरिएको बताए । उनीहरूको दीर्घकालीन स्वरोजगार तथा आत्मनिर्भरता अभिवृद्धिका लागि योजना अघि बढाइएको उनको भनाइ छ । ‘हरेकको घरमा आशा पलाओस् । अपाङ्गता अब पीडाको होइन, प्रेरणाको परिचय बनोस्’ अध्यक्ष थापाले भने ।
यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अपाङ्गता भएका बालबालिकाको शिक्षालाई प्राथमिकता दिइएको ब बताइन् । विभिन्न संघसंस्थासँगको सहकार्यमा थप योजनासँगै क्षमताको पहिचान गरी उनीहरूको जीवनमा टेवा पु¥याउने उनको दाबी छ ।