Butwal Today

सेयर बजार ४ अंकले बढ्यो

९ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

नेपाली सेयर बजारमा लामो ओरालोपछि सोमबार थोरै उज्यालो देखिएको छ। लगातार घट्दै आएको नेपाल धितोपत्र बजार (नेप्से) परिसूचकमा चार अंकको सुधार देखिएको हो। बजार खुलेको अवस्थामा २५९५.९७ अंकमा रहेको नेप्से सोमबार कारोबार सकिँदासम्म २६००.७६ अंकमा उक्लिएको छ।

यो सुधारको साथमा सम्वेदनशील सूचकसमेत माथि गएको छ। तर, कारोबार रकम भने घटेको देखिएको छ। आइतबार ९ अर्ब १४ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार घटेर ६ अर्ब ४७ करोड रुपैयाँमा झरेको छ।

जोशी जलविद्युत् र पञ्चकन्या माई जलविद्युत् कम्पनीका सेयर १० प्रतिशतले बढ्दा गुँरास साना वित्तीय संस्थाको सेयर यति नै अनुपातले घटेको छ।

१२३ कम्पनीका सेयर मूल्यमा वृद्धि देखिएको छ भने १२४ कम्पनीका सेयर घटेका छन्। बैंक तथा वित्त समूहमा देखिएको सुधारले बजारमा केही भरोसा फिर्ता ल्याएको संकेत दिएको छ।

बजार समूहअनुसार हेर्दा बैंकिङ, वित्त, होटल, जलविद्युत्, लगानी, साना वित्त र व्यापार समूहमा हरियो संकेत देखिए पनि विकास बैंक, जीवन बीमा, उत्पादन, सामूहिक लगानी कोष, निर्जीवन बीमा र अन्य समूहमा गिरावट देखिएको छ।

कुल ३२५ कम्पनीका ७० हजार ८ सय कारोबारमार्फत १ करोड ७५ लाख कित्ता सेयर किनबेच भएका छन्। कारोबार रकम घटे पनि सूचकमा आएको सानो सुधारले बजारमा केही सकारात्मक संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?