© २०२३
बुटवल, ९ असार। देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका एनसिसि क्याडेट छनौटमा परेका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रममार्फत प्रवचन तथा मार्गदर्शन प्रदान गरिएको छ ।
विद्यालय प्रिन्सिपल कृष्ण प्रसाद गैरेका अनुसार एनसिसि तालिममा सहभागी भई सफलतापूर्वक छनौट भएका विद्यार्थीहरूलाई सेवा भावना, अनुशासन र आत्मबल विकासका लागि यस्तो प्रवचन कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख वक्ता तारादल गणका गणपति प्रमुख सेनानी सुवर्ण खड्काले एनसिसि क्याडेटहरूलाई सम्बोधन गर्दै भने, “एनसिसि केवल एक प्रशिक्षण होइन, यो विद्यार्थीहरूको व्यक्तित्व विकास र राष्ट्रप्रेम जागरणको बाटो हो।” उनले विद्यार्थीहरूलाई देश र माटोको सम्मान गर्दै यही देशमा भविष्य निर्माण गर्ने प्रेरणा समेत प्रदान गरे।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक वेद सूर्यवंशी, रोशी गुरुङ, मा.वि. इन्चार्ज मुक्ति विश्वकर्मा, प्लस टु इन्चार्ज अनन्तराम भण्डारी तथा अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले पनि सफलताको शुभकामना व्यक्त गरे।
विद्यालय प्रशासनले यस कार्यक्रमलाई विद्यार्थीहरूमा नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गराउने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।