© २०२३
नेपालगन्ज, ०९ असार ।
जिल्लाको राप्ती सोनारी गाउँपालिकाको कृषि तथा पशु शाखाले एक वर्षभित्र सञ्चालन गरेका दर्जनौँ कार्यक्रमले गाउँका सयौँ कृषकलाई प्रत्यक्ष रूपमा लाभ पु¥याएको छ । सीमित बजेटमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै गाउँपालिकाले कृषिमा आत्मनिर्भरता र पशुपालनमा उत्पादन वृद्धि गर्ने दिगो प्रयास थालेको हो । कृषि शाखा प्रमुख चन्द्रा कुमारी शाहीका अनुसार चालु आर्थिक वर्षमा मात्र कृषि शाखाबाट कृषक लक्षित १५ बढी कार्यक्रम सञ्चालन गरिएको छ । ६ लाख रुपैयाँको बजेटमा ९ वटै वडाका २२५ जना कृषकलाई एक दिने जैविक विषादी प्रयोग तालिम दिइएको थियो । तालिमपछि विषादी सञ्चित गर्न विशेष ड्रम समेत वितरण गरिएको थियो । यस कार्यक्रमबाट ९२० जना कृषक लाभान्वित भए ।
त्यस्तै, २ लाख रुपैयाँ बजेटमा सञ्चालित कृषक पाठशाला कार्यक्रम अन्तर्गत वडा नं. २ राजपुरमा आलु तथा वडा नं. ४ लालपुरमा बोडी खेतीमा व्यवहारिक तालिम दिइएको थियो । कृषक पाठशालाले खेतमा काम गर्दै सिक्ने पद्धतिबाट कृषकको सीप र आत्मविश्वास बढाएको स्थानीयले बताएका छन् ।
माटो परीक्षणदेखि बीउ अनुदान:
गाउँपालिकाले १ करोड रुपैयाँ बजेटमा माटो व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ । कम्पोस्ट मल, प्राङ्गारिक मल, बर्मी मल उत्पादन, एजोला प्रविधि जस्ता विषयमा तालिम दिइएको कार्यक्रमअन्तर्गत ५ स्थानमा माटो परीक्षण शिविर सञ्चालन गरियो । ३६१ जना कृषक प्रत्यक्ष लाभान्वित भएका छन् ।गहुँ र धानको उन्नत बीउ वितरण कार्यक्रमअन्तर्गत १ करोड ७५ हजार रुपैयाँ बजेटमा ९ वटै वडाका १३५० घरधुरीलाई बीउ वितरण गरियो । यस कार्यक्रमबाट ६ हजार ७५० जनालाई प्रत्यक्ष लाभ पुगेको छ । कृषकहरूले बीउको गुणस्तर राम्रो भएको र उत्पादन बढेको प्रतिक्रिया दिएका छन् ।
यान्त्रिकीकरण र सिँचाइ विस्तार:
कृषिमा यान्त्रिक प्रविधि भित्र्याउने उद्देश्यले वडा नं. १ मा ७ लाख रुपैयाँको कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गरिएको छ । पावर टिलर खरिद प्रक्रियामा छ र वितरणपछि कृषकको जोत्ने काम सहज हुने अपेक्षा गरिएको छ ।
सिँचाइ सुविधा विस्तार गर्न गाउँपालिकाले ३ करोड रुपैयाँको बजेटमा ३ वटा कुलो निर्माण, ९२ वटा सिँचाइ मोटर र १६ वटा बोरिङ वितरण प्रक्रिया अघि बढाएको छ । कार्यक्रम कार्यान्वयन भएपछि २५० घरधुरीका १ हजार १५५ जना कृषक लाभान्वित हुनेछन् ।मांगमा आधारित प्रविधि तथा उपकरण वितरण कार्यक्रम अन्तर्गत ११ जना कृषकले मिनी टिलर, मकै थ्रेसर, तेल पेल्ने मेशिनको लागि प्रस्ताव दिएका छन् । बजेट विनियोजन र खरिद प्रक्रिया अघि बढिसकेको शाखा प्रमुख शाहीले जानकारी दिइन् । त्यस्तै, ४ लाख रुपैयाँको कृषि बिमा कार्यक्रम र ५ लाख ९८ हजारको प्राङ्गारिक विकास कार्यक्रम तथा बगर खेती कार्यक्रममा भने कुनै प्रस्ताव नपरेका कारण कार्यक्रम अघि बढ्न सकेन ।
किसान कार्ड वितरण र सूचीकरण:
कृषकको परिचय र सेवा पहुँच विस्तार गर्न १ लाख रुपैयाँ खर्चेर किसान कार्ड छपाइ गरिएको छ । हालसम्म ३२०० घरधुरीका लागि छापिएको कार्ड सम्बन्धित वडामा पठाइसकिएको छ। किसान सूचीकरण कार्यक्रम अन्तर्गत ५ वडामा ६ हजार घरधुरीमा गणकले विवरण सङ्कलन गरिसकेका छन् । कृषि तथा पशुपालन सेवाको योजना निर्माणमा सूचीकरणले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पशुपालनमा पनि उत्तिकै ध्यान:
पशु शाखा प्रमुख जय बहादुर कार्कीका अनुसार गाउँपालिकाले ७ हजार ९२८ किसानलाई हिउँदे र वर्षे घाँसको बीउ वितरण गरेको छ । जय, बर्सिम, सुडान र मकै चरी प्रजातिका घाँस वितरण गरेर पशुको आहार आपूर्ति सहज बनाइएको छ ।त्यस्तै, २३ जनालाई साइलिज बनाउने तीन दिने तालिम दिइएको थियो । ४ वटा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ जसबाट ३२२ घरधुरीका हाँस, कुखुरा, बाख्रा, भैँसी र गाईको स्वास्थ्य परीक्षण गरिएको थियो ।९ वटै वडामा पशुपक्षीका लागि निःशुल्क औषधि वितरण गरिएको छ । गाई, भैँसीका लागि एचएस बीक्यू, बाख्रामा पीपीआर र बङ्गुरमा स्वाइन फिभरजस्ता रोगविरुद्धको खोप दिइएको छ । पशु सुत्केरी भत्ता कार्यक्रम अन्तर्गत हाल ५ जना कृषकको नाम सिफारिस भइसकेको छ । प्रत्येकलाई २ हजार रुपैयाँ बराबरको सहायता (एक हजार नगद, एक हजार औषधि र भिटामिन) उपलब्ध गराइनेछ ।
संरचना र उपकरणमा लगानी:
गौशाला संरचना निर्माण कार्यक्रम अन्तर्गत वडा नं. २, ४ र ७ मा १२ लाख रुपैयाँको बजेटमध्ये १० लाखको काम सम्पन्न भइसकेको छ । कृषकले जमिनमा फर्स ग्यारे, तारबार र टहरा निर्माण जस्ता काम गरिरहेका छन् । त्यस्तै, ५० प्रतिशत अनुदानमा ३२ जना कृषकलाई इलेक्ट्रिक च्याफ कटर मेशिन वितरण गरिएको छ । मत्स्य विकास कार्यक्रम अन्तर्गत ३, ४, ६ र ७ नम्बर वडाका चार जनालाई पोखरी पुनर्निर्माणमा अनुदान दिइएको छ ।विश्व रेविज दिवसमा २५० वटा सामुदायिक कुकुरलाई खोप दिइएको छ । पशु तथा कृषि तथ्याङ्क अद्यावधिक, कृत्रिम गर्भाधान, इपिडिमियोलोजी रिपोर्ट सङ्कलन, किसान परिचयपत्र वितरण तयारी पनि गाउँपालिकाले अघि बढाएको छ । हाल गाउँपालिकाका ९ वटै वडामा एक÷एक जना र पालिकास्तरमा ५ जना गरी १४ जना पशु प्राविधिक कार्यरत छन् ।
किसान भन्छन्:
राप्ती सोनारी ३ साइपुरका पञ्चराम थारु विगत १५ वर्षदेखि व्यावसायिक भैँसी पालन गर्दै आएका छन् । हाल उनीसँग ३२ वटा भैँसी छन्, जसमा ७ वटा दुहुनो छन् । दैनिक ४५ लिटर दूध उत्पादन हुने र स्थानीय बजार अगैयामा बिक्री हुने गरेको उनी बताउँछन् ।
पञ्चराम भन्छन्, “भैँसी बिरामी हुँदा वडाका प्राविधिकलाई बोलाउँछु, औषधि पनि वडाबाटै पाउँछु । पहिले जस्तो सहर जानु पर्दैन।“ उनले यसअघि गाउँपालिकाको अनुदानबाट थप दुईवटा भैँसी किनेका थिए । उनका अनुसार गोबर मलको प्रयोगले खेतबारीको उर्वरता बढेको छ र रासायनिक मलको प्रयोग घटेको छ ।
जनप्रतिनिधिको दृष्टिकोण
गाउँपालिका कार्यपालिका सदस्य राधिका सुनारका अनुसार, कृषिमा खहरे खोलाको व्यवस्थापन गरेर सिँचाइमा सहज बनाइएको छ । गोठ सुधार कार्यक्रम ५० प्रतिशत अनुदानमा सञ्चालन भइरहेको र हालसम्म १२ जना कृषक छनोट भइसकेका छन् । ७ लिटरभन्दा बढी दूध उत्पादन गर्ने कृषकलाई दूध क्यान वितरण गरिएको पनि उनले बताइन् ।
आर्थिक विकास समिति संयोजक एवं वडा नं. ३ का अध्यक्ष मिन कुमार चौधरीले गाउँपालिकाले दुर्गम क्षेत्रका कृषकलाई प्राथमिकता दिँदै आएको बताए । उनले भने, “हामी गुर्दन, गौडी, भौवा नाकाका किसानसम्म पशु स्वास्थ्य शिविर लिएर पुगिरहेका छौं ।’’ चौधरीका अनुसार आगामी वर्ष आलु, मकै र तरकारीका लागि ब्लक÷पकेट क्षेत्र घोषणा गरेर अनुदान र प्रविधि प्रवर्द्धन गरिने योजना बनाइएको छ । राप्ती सोनारी गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई समेटेर सञ्चालन गरेका कार्यक्रमहरूले कृषकको जीवनशैली, उत्पादन क्षमता र आर्थिक अवस्था सुधारमा उल्लेखनीय योगदान पु¥याएको देखिन्छ ।