© २०२३
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर प्रकृतिका रोगहरूको उपचारमा सहुलियत दिन स्वास्थ्य बीमा कोषमार्फत बिरामीहरूलाई थप एक लाख रुपैयाँको उपचार सुविधा प्रदान गर्ने निर्णय गरेको छ। यस निर्णयपछि स्वास्थ्य बीमाबाट लाभ लिने नागरिकहरूलाई जटिल उपचारका लागि अब बढी राहत हुने भएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको मन्त्रीस्तरीय निर्णयअनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर जस्ता रोग लागेकाहरूले नियमित बीमा सुविधामा थप एक लाख रुपैयाँ उपचार सहयोग पाउनेछन्।
मन्त्रालयले स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १७ को उपनियमअनुसार यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। उक्त नियमावलीले कडा रोग भएका बीमित व्यक्तिलाई थप रकम उपलब्ध गराउने व्यवस्था गरे पनि पूर्ण कार्यान्वयनमा आउन सकेको थिएन। अब भने स्वास्थ्य बीमा बोर्डले आगामी बैठकमा यो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिरहेको छ।
हाल बीमा गरिएको व्यक्तिले अधिकतम दुई लाख रुपैयाँसम्म सेवा लिन सक्नेछन्। विपन्न वर्गका लागि पहिल्यै लागू भइसकेको थप एक लाख रुपैयाँको सुविधा यथावत रहने छ।
स्वास्थ्य बीमा सेवामा आकर्षण बढाउन मन्त्री पौडेलले ‘बीमा थैली’ प्रणाली लागू गर्ने तयारी पनि गरिरहेका छन्। यस्तो थैली प्रणालीमार्फत नागरिकले आफ्नो आवश्यकता अनुसार सेवा छनोट गर्न सक्नेछन्, तर बीमा कोषको दुरुपयोग हुन नदिन मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ।
स्वास्थ्य बीमा सुविधा तय गर्दा नागरिकको स्वास्थ्य आवश्यकता, रोगको भार, लागत प्रभावशीलता र वित्तीय दिगोपनाको आधारमा योजना बनाउने मन्त्रालयको स्पष्ट भनाइ छ। कोषको दीर्घकालीन प्रभावशीलता सुनिश्चित गर्न सावधानीपूर्वक नीति निर्माण गरिने बताइएको छ।