© २०२३
‘सहानुभूति होइन माया र सम्मान गर’ भन्ने नाराका साथ आज एकल महिला दिवस मनाईदै छ । यो वर्षको नारामा भनेजस्तै वास्तवमा एक महिलाहरूलाई सहानुभूतिको आवश्यकता छैन, उनीहरूलाई माया र सम्मानको खाँचो छ । यो दिवस मनाउँदै गर्दा आज एकल महिलाहरूको सम्मानमा राज्यका तीन वटै तहले खासै कार्यक्रम ल्याउन सकेका छैनन् । एकल महिलाहरूको अधिकार रक्षाको सवाल चुनौतीपूर्ण बन्दै गएको छ ।
एकल महिलाहरू अझै पनि सेतो पहिरनमा बाँच्नुपर्ने बाध्यता छ । दूरदराजका बस्तीहरूमा एकल महिला भनेपछि दुर्व्यवहार गर्ने, अपहेलना गर्ने र छि छि र दूर दूरका अनेक घटना अझै पनि जारी छ । त्यसो त सहरी क्षेत्रमा पनि एकल महिला भनेपछि दबाउने प्रवृत्ति व्यापक छ । एकल महिलाहरूलाई राज्यले नै उचित सम्मान दिन सकेको छैन । उनीहरूलाई माया र सम्मान होइन कि सहानुभूति राख्ने काम हुँदै आएको छ । वास्तवमा एकल महिलाहरूलाई समाजमा माया र राज्यबाट सम्मानको खाँचो छ । उनीहरूलाई रोजगारीमा जोड्नुपर्ने आवश्यकता छ । समाजमा पुनर्स्थापित गराउन पनि उत्तिकै आवश्यक छ । राज्यले महिलाहरूका लागि ३३ प्रतिशत सिट छुट्टाएको भए पनि त्यो पनि व्यवहारमा कार्यान्वयनमा आउन सकेको छैन । महिला अधिकार र लैगिंक समानता सम्बन्धी विभिन्न ऐन, नियम अनि कार्यान्वयनका पाटाहरू अत्यन्त फितलो छ र ती कागजमा नै सीमित छन् ।
एकल महिलाहरूलाई समाजमा पुनर्स्थापित गर्ने विषयमा नेपाल चुकिरहेको छ । श्रीमान् गुमानपछिको उनीहरूको जीवन एक्लो, निरस र अन्धकारमय हुने गरेको छ । विश्वभरिका एकल महिलाहरूले एउटा सङ्घर्षशील अनि पीडादायी जीवन भोगिरहेका छन् । तर, उनीहरूलाई सम्मानसाथ बाँच्ने अवसर दिने विषयमा राज्य मौन छ । हरेक वर्ष जुन २३ लाई विश्वभरि एकल महिला दिवसका रूपमा मनाउने चलन सन् २०११ बाट सुरु गरिएको हो । विश्वभरिका विकासोन्मुख देशका एकल महिलाहरूले गरिबी, हिंसा र स्वास्थ्य समस्यासँग जुझिरहेकोमा यस दिवसले एकल महिलाका पिडासँगको एैक्यवद्धता र त्यसका लागि राष्ट्रहरूसँग पैरवी पनि गर्दछ ।
संयुक्त राष्ट्रसङ्घको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर करिब २५ करोड एकल महिला र उनीहरूका ५० करोड बालबालिका विभिन्न खाले पीडामा छन् । त्यसमध्ये ८ करोडभन्दा बढी महिला यौन हिंसा सहन बाध्य छन् । नेपालकै कुरा गर्दा पनि राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुषको भन्दा महिलाको सङ्ख्या बढी छ । पुरुषको सङ्ख्या १ करोड ४२ लाख ५३ हजार ५५१ छ भने महिलाको सङ्ख्या १ करोड ४९ लाख ११ हजार २७ प्रतिशत छ । नेपाली समाजले महिलामाथि न्याय गर्न सकेको छैन । त्यसमाथि एकल महिलालाई विभिन्न लाञ्छना लगाएर अपहेलित गर्ने प्रवृत्ति छ ।
यस प्रकारको अवहेलना, विभेद र लाञ्छनाका विरुद्ध एकल महिलाहरू अव ऐक्यबद्ध हुनु जरुरी छ । एकल महिलामालाई निर्धो मानेर हेप्ने, बोक्सीलगायतका आरोपहरू लगाउने, एकल महिला देख्ने बित्तिकै साईत परेन भन्ने आदि जस्ता अनेक दुर्व्यवहारका घटना जारी छ । नेपाली समाजले साँचो अर्थमा एकल महिलालाई न्याय गर्न सकेको छैन । कतिसम्म भने आफ्नै परिवारजनबाट समेत एकल महिलामाथि अमानवीय हिंसा भएका प्रशस्त उदाहरण हामीले देख्दै र भोग्दै आएका छौँ । अबको दिनमा उनीहरूको सम्मान गर्ने हो भने समानताको मूलधारमा एकल महिलाहरूको पहुँच अभिवृद्धिका लागि सिपमूलक तालिम, जीविकोपार्जन अभिवृद्धिका कार्यक्रमहरू ल्याउन जरुरी छ । पालिकाहरूले नीति बनाउँदा यसतर्फ ध्यान दिनु जरुरी छ ।
सङ्घीय र प्रदेश सरकारले पनि एकल महिलाहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रममा जोड दिएर राज्यका हरेक अवसरमा उनीहरूलाई पहिलो प्राथमिकता दिनु जरुरी छ । एकल महिला मात्रै होइन, उनीहरूसँग आश्रित बालबालिकाको पालनपोषण, शिक्षा र रोजगारीमा जोड्नेतर्फ ध्यान जाओस् । एकल महिलालाई माया र सम्मानको खाँचो छ । यो विषयमा अव राज्यले ठोस कदम चालोस् । उनीहरूमाथिको दुर्व्यवहार रोक्ने विषयमा पनि अव नयाँ ढङ्गले सोच्नु जरुरी छ ।