Butwal Today

इरानमा अलपत्र ११ नेपालीलाई भारतको सहयोगमा उद्धार गरिँदै

९ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

इरानको राजधानी तेहरानमा रहेका ११ जना नेपाली नागरिक भारतीय सरकारको सहयोगमा नेपाल फर्कने तयारीमा छन्। उनीहरू तेहरानस्थित विभिन्न नियोग र कार्यालयहरूमा काम गर्दै आएका थिए।

करिब ९५० किलोमिटरको दूरी सडक मार्ग हुँदै उनीहरू तेहरानबाट इरानकै मसद (Mashhad) सहरमा पुगेका छन्, जुन तेहरानबाट झन्डै ११ घण्टा टाढा पर्छ। हाल उनीहरू मसदको एक होटलमा बसेका छन् र उडानको प्रतिक्षामा छन्। दोहास्थित नेपाली दूतावासले उनीहरू चाँडै स्वदेश फर्किने जानकारी दिएको छ।

यो उद्धार कार्य भारतीय दूतावासको समन्वयमा भएको हो। भारतले इरानमा रहेका नेपाली र श्रीलंकाली नागरिकलाई उद्धार सहयोग गर्ने घोषणा गरेपछि उनीहरूलाई भारतकै विमानमार्फत नेपाल ल्याइनेछ।

फर्कने तयारीमा रहेका नेपालीहरूमा उदयपुरका हरि थापा, उत्सव थापा, गायत्री कार्की, लुम्बिनी प्रदेशका विष्णु भुसाल, बुद्धि भुसाल, सागर पौडेल, सुमन गैरे, यज्ञ मरासिनी, गणेश पोखरेल र राजु खनाल छन्।

इरानमा अझै केही नेपाली नागरिक जेलमा रहेको र उनीहरूको तत्काल उद्धार सम्भव नभएको जानकारी आएको छ। अधिकांश नेपालीहरू भान्से र अन्य श्रमिकका रूपमा इरानमा कार्यरत थिए।