© २०२३
काठमाडौँ ।
न्याय परिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरेको छ । तर, उनको नामसँगै विवाद पनि उठेको छ ।टिबी कार्कीले सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा पोखरेल अयोग्य भएको उजुरी दर्ता गरेका छन् । यो उजुरी समितिमा २१ नम्बरमा दर्ता भएको छ ।
कार्कीको अनुसार, पोखरेलले उच्च अदालत दाङ तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति गरेका टिप्पणी र अभिव्यक्तिले अदालतको आदेशलाई अस्वीकार गरेको देखिन्छ ।
सुनुवाइ समितिले जेठ ३१ देखि सर्वोच्च अदालतमा प्रस्तावित पोखरेलसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा र न्याय परिषद्का सदस्य महेशकुमार नेपालको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।समितिले उजुरी वा गुनासो भए १० दिनभित्र प्रस्तुत गर्न सार्वजनिक सूचना पनि जारी गरेको थियो । सो अवधिमा कार्कीले पोखरेलविरुद्ध उजुरी दिएका हुन् ।
