© २०२३
काठमाडौँ ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा मनोमानी भएको भन्दै संसद्मा छानबिनको माग गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद केसीले बजेट विनियोजन प्रक्रिया ठीक छ कि छैन भनेर संसदीय समिति गठन गर्नुपर्ने बताएका हुन्।
उनले भने, “दुई उपप्रधानमन्त्रीलाई विनम्र अनुरोध छ, बजेटमा प्रस्तुत विनियोजन सही छ कि छैन भनेर संसदीय समिति बनाएर छानबिन गरौं।”यदि संसदीय समिति नबनेको खण्डमा उनले सुशासन समिति वा लेखा समितिमा पठाउनुपर्ने सुझाव पनि दिएका छन्।सांसद केसीले बजेट वितरणमा समान व्यवहार नभएको उल्लेख गर्दै मन्त्री र शीर्ष नेताहरूको जिल्लामा परेको बजेट र अन्य जिल्लाको बजेटबीच तुलना गर्नुपर्नेमा जोड दिएका छन्।
उनले प्रश्न गरे, “के सबै माननीयलाई समान व्यवहार भयो? मन्त्री र नेताहरूको जिल्लाको बजेट र देशकै बजेट मिलाएर हेर्दा के अवस्था आउँछ?”केसीले यस विषयमा छानबिन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।