© २०२३
बुटवल, ८ असार ।
पहिरोको निगरानी गरिरहेको क्यामेराले दिनरात फोटो खिच्छ, नियमित खिचेको पहिरोको फोटो (युके) बेलायतको क्याम्रुन युनिभर्सिटीमा पठाइन्छ । यहाँ खिचेको फोटोलाई बेलायत उक्त बिश्वविद्यालयबाट डेटा एनलाइसिस गर्ने गरी हरेक १५ मिनेटमा ५ वटा क्यामेराले निरन्तर खिचिरहन्छन् । बुटवल उपमहानगर वडा नम्बर ३ ज्योतिनगरमा चुरे पहाडबाट भूस्खलन भै पहिरो आउने तर सामान्य आँखाले हेर्दा पहिरो खसेको नदेखिने भएपछि यो प्रविधिको प्रयोग गरिएको हो ।
बिगत लामो समयदेखि बुटवलबासीका लागि समस्याको विषय बन्दै आइरहेको ज्योतिनगरको पहिरोका कारण निम्तिने जोखिम नियन्त्रणको पूर्वतयारीका लागि ३ महिनाअघि यस क्षेत्रमा उक्त क्यामेराहरु जडान गरिएको थियो । जोखिमपूर्ण क्षेत्रमा लगाइएको यी क्यामेराबाट हरेक १५÷१५ मिनेटमा फोटो खिच्ने र हरेक १० दिनको अन्तरालमा यी क्यामेराबाट चिप्स निकालेर बुटवल उपमहानगरपालिकाको विपत् शाखाबाट यसलाई क्याम्रुन युनिभर्सिटी पठाउने गरिएको बुटवल उपमहानगरले जनाएको छ । उपमहानगरको विपत् शाखाले सेटेलाइट विधिबाट पनि ज्योतिनगर पहिरोको निरन्तर निगरानी गर्दै आएको छ ।
यसपटक पनि वर्षायाम सुरु भइसकेको छ । पहिरो, बाढी, डुबान, नदी कटान आदि यो वर्षायामसँग जोडिएका सम्भावित विपत् हुन् । क्यामेराको प्रयोगबाट पहिरोको निगरानी गर्न थालिएपछि ज्योतिनगरको पहिरो नियन्त्रणमा यो प्रविधि प्रभावकारी बन्ने यस क्षेत्रका बासिन्दा बताउँछन् । स्थानीय भन्छन्—“अहिले यहाँका बासिन्दा केही हदसम्म ढुक्क छन्, किनकि यहाँ पाँचवटा क्यामेराले निगरानी चौबीसै घण्टा गर्दैछ ।” क्यामेराको नजरमा ज्योतिनगर ः विपत् पूर्वतयारीमा सतर्क बुटवल भन्ने मन्त्र नै बनाएर गम्भीर ढंगले लागिरहेको उपमानगरपालिकाले जनाएको छ ।
बुटवल ३ का वडा सदस्यसमेत रहेका अमृत खड्काका अनुसार तिनै तहका सरकारबाट पहिरो नियन्त्रणमा भरमग्दुर प्रयास भैरहेको छ, हरेक बर्ष करोडौं रुपैयाँ लगानी पनि भैरहेको छ तर नतिजा बालुवामा पानी जस्तो भैरहेको छ । क्यामेरा जडान गरेका कारण यसपटकबाट भने स्थानीयहरु अलिक ढुक्क र बिश्वस्त रहेको उनी बताउछन् । खड्का भन्छन्—“बुटवल उपमहानगरपालिका र यूकेको क्याम्रुन युनिभर्सिटीबाट खटिएको एक प्राविधिक टोलीको सहयोगमा ज्योतिनगरमा जडान गरिएका यी क्यामेराहरूले सम्भावित विपत् अवस्थाको निगरानी मात्रै गर्दैनन्, आकस्मिक घटना भएमा तुरुन्त सूचना प्रदान गर्छन् । टोलीले जोखियुक्त स्थान पहिचान गरेर ती क्यामेराहरु जडान गरेको हो । ती क्यामेरा जडानबाट खिचिएका तस्विरले पहिरोको मापन गर्दै आएको छ ।”

घटना घटिहालेमा कसरी सूचना प्रवाह गर्ने, रेस्क्यू गर्ने तरिका, आगलागी, बाढीपिडित, लगायतका विपत्जन्य घटनाका लागि तयारी अवस्थामा विभिन्न समूहबाट विपत् समिति गठन गरिएको छ । २५ सदस्यीय विभिन्न समाजिक क्षेत्र, सुरक्षकर्मी, टोलसंस्था, उपमहानगरपालिका, वडा लगायत गरी प्रदेश कार्यविधि अनुसार समिति गठन गरेको वडा नं. ३ का जनप्रतिनिधि खड्का बताउँछन् । “हामीले हरेक वर्ष जस्तै यस वर्ष पनि जेसीभी, स्काभेटर तम्तयार अवस्थामा राखेका छौं”–जनप्रतिनिधि खड्का भन्छन्, “हाम्रो उद्देश्य राहत मात्रै होइन, पुनःस्थापना पनि हो ।”तर पीडितहरू भन्छन—“हामीलाई राहत होइन, भरोसा चाहिएको हो । हरेक रात हामी त्राससँग सुत्छौं, उज्यालो भएर बाँचेकैमा आभारी हुन्छौं ।”
यता तिनाउ नदीमा जलसतह उच्च भएमा ‘एलर्ट’ जारी हुन्छ । खतरा सूचक र सूचनाहरू नदी आसपासका बासिन्दाको मोबाइलमा सिधै पठाइन्छ । टेक्नोलोजीको युगमा यस्ता व्यवस्था विपत् न्यूनिकरणमा महत्वपूर्ण कदम सावित भएका छन् । उपमहानगरपालिकाका अनुसार विपत् व्यवस्थापनमा तालिम प्राप्त जनशक्ति, आकस्मिक उद्धार टोली, सुरक्षित स्थानहरूको पहिचान र सम्पर्क नम्वरसहितको तयारी अवस्थामा राखिएको नगर प्रमुख खेलराज पाण्डेको भनाई छ । प्रमुख पाण्डे भन्छन—“हामी विपत् रोक्न सक्दैनौं, तर सतर्कताका साथ काम गर्यौं भने असर कम गर्न भने सक्दछौं । यही सोचका साथ बिस्तारै स्मार्ट विपत् व्यवस्थापनतर्फ अघि बढ्दैछौ ।”
२०७३ सालको बाढी, २०५५ सालको पहिरो र प्रत्येक वर्ष दोहोरिने विपत्का कहालीलाग्दा घटनाहरुले अहिले पनि बुटवलवासीलाई सताइरहेको छ । बुटवलको तिनाउ नदीमा आएको २०७३ सालको बाढीले बुद्धनगरमा रहेको झोलुङ्गे पुल र केही घरहरू बगाएको घटना होस्वा ज्योतिनगर पहिरोले विस्थापितहरु । जब वर्षायाम सुरु हुन्छ उनीहरुको निद्रा हराउँछ । वर्षासँगै बुटवलमा विपत्को खतरा केवल तिनाउ र दानव खोलाको बाढीमा मात्र सीमित छैन । ज्योतिनगर, लक्ष्मीनगर र पछिल्लो समय फूलबारी, पाखापानी क्षेत्रसमेत पहिरोको चपेटामा छन् । २०५५ सालमा गएको ठुलो पहिरो, २०७८ को क्षति र प्रत्येक वर्ष बसाई सर्नुपर्ने बाध्यता यी सबैले बुटवललाई ‘उच्च जोखिम क्षेत्र’ को रुपमा चिनाएको छ ।
बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालका अनुसार विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै उपायहरु अपनाइएको छ । “राज्यका सबै सुरक्षा निकायहरुसँग सहकार्यका लागि समन्वय भैरहेको छ । नगर प्रहरीलाई बिशेष तालिम दिइएको छ, उद्धार सामग्री भण्डारणमा राखिएको छ, तिनाउ र दानव खोलामा तारजाली जडान गरेर तटबन्ध बनाइएको छ, विपत् नियन्त्रण हाम्रो कल्पना भन्दा बाहिर हुन सक्छ, तर पनि तयारीमा कुनै कसर बाँकी राखेका छैनौ” उपप्रमुख अर्यालको भनाई छ ।
यस आर्थिक वर्षमा उपमनगरपालिकाले विपत् व्यवस्थापन कोषमा तीन करोड विनियोजन गरी काम गर्दै आएको छ । हालसम्म २ करोड खर्च गरिसकेको छ । तर, स्थानीय स्तरमा अझै त्रास कम भएको देखिँदैन । वन वातावरण तथा विपत् व्यवस्थापन शाखा प्रमुख योगेश चापागाईँका अनुसार तिनाउ नदीको बाढीको लागि पूर्व सूचना प्रणाली पाल्पाको दोभान क्षेत्रमा स्थापना गरिएको छ, साइरन जडान गरिएको छ । चापागाई भन्छन—“विपत् नियन्त्रणका लागि आवश्यक तयारी गरिएको छ, सातजनाको सूचनाकर्मी टोली पनि तयारी अवस्थामा राखिएको छ ।” यो सूचना केन्द्रले पूर्व चेतावनी दिन सक्ने संयन्त्र, आगलागी नियन्त्रणका लागि २४ सै घण्टा तयारी अवस्थामा दुई दमकल र १४ जनाको जनशक्ति, पहिरो रोकथामका लागि वृक्षारोपण, खोल्सा व्यवस्थापन, र तटबन्ध निर्माण जस्ता उपायहरू चालिएको चापागाईँको भनाई छ ।
पहिरो समस्या समाधानका लागि तट्वन्ध गर्ने गरिएको छ । मूल फुट्ने स्थानमा पाइप विछाएर पानी संकलनका लागि टंकी बनाइएको छ । मिलनपथ, ज्योतिनगर, सुखौरा खोलाहरुमा सरसफाईका साथै चेक ड्याम गर्ने काम सम्पन्न भै सकेको छ । त्यस्तै पहिरो नियन्त्रणका लागि गरा बनाउने काम पनि भएको छ, हरेक वर्ष हलचल गर्ने पहिरो हेर्नका लागि क्यामेरा जडान, अमरपथ डुवान रोक्ने काम भएको बताए । त्यस्तै तिनाउ खोलामा कन्य ढुंगा भन्ने स्थान लगायतमा तट्बन्धको काम भएको, ४ नं वडामा सुखौरा खोला उत्खनन् , २ नं वडाको ठाडाखोला सरसफाई टोलको निगरानीमा आफै गरेको, १३ नं वडामा पानी खोला, भालु खोलामा तटबन्ध र चेकड्याम लगाउने काम सम्पन्न, तिनाउ नदी र दानवमा अव्यवस्थित बसाई रहेको स्थानहरुमा बुटवल उपमहानगरपालिका, जनताको तटबन्ध, सडक डिभिजन कार्यालयबाट समेत कटानलाई रोक्ने काम गरेको चापागाईको भनाई छ ।
त्यस्तै चुरे राष्ट्रपतिबाट चुरेको काम, मनसुन व्यवस्थापनका लागि जाली व्यवस्थापन, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय वडा विपत् व्यवस्थापन समिति, नगर विपत् व्यवस्थापन समिति पूर्व तयारीका लागि तम्तयारी अवस्थामा रहेका छन् । तिनाउ खोलामा जलमापन नाप्ने www.hydrology.gov.np मा पनि हेर्न सकिने व्यवस्था मिलाइएको छ । उद्धार तथा राहत सामाग्रीहरुको फूलफिल गराएको, माग अनुसार विपत्को उद्धार सामग्रीहरु तयारीमा राखिएको छ । तिनाउमा जलाधार ६ मिटरलाई वारर्निङ्ग लेवल र ७ लाई डेन्जर लेवल भनिन्छ ।
नेपाल दुरसंचार संस्थानको सहकार्यमा पानीको लेवल बढेको तटीय क्षेत्रमा बसोवास गर्नेलाई मोवाइलमा म्यासेज जाने व्यवस्था गरिएको छ । यता सिद्धबाबा क्षेत्रबाट दिनहुँ सयौं यात्रु पूर्व–पश्चिम यात्रा गर्छन् । तर बर्षामा त्यो बाटो यात्रा भन्दा जोखिम बन्छ । वडा नम्बर ३ वडा अध्यक्ष विष्णु ढकाल भन्छन्, “राजमार्ग जोगाउन हामी प्रयासरत छौं, तर पहिरो हटाउँदा आफैंको सुरक्षाको डर हुन्छ । २५ भन्दा बढी जोखिमयुक्त क्षेत्रहरू पहिचान भएका छन्, र प्रत्येक वडामा तयारी टोली खटाइएका छौ ।”
वर्सेनि सरकारले करोडौं रुपैयाँ लगानी गर्ने गरेको भएपनि ज्योतिनगर पहिरो नियन्त्रणमा खासै प्रभावकारी कामहुन सकेको छैन । संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय समुदायबाट समेत सक्दो लगानी गरी पहिरो नियन्त्रण, रोकथाम र व्यवस्थापनका क्षेत्रमा थुप्रै कामहरु भैरहेका छन् । तर पनि जोखिम न्यूनिकरण भएको विश्वास गर्न अझै सकिएको छैन । सबैको लगानी बालुवामा पानी सरह भएको स्थानीयको गुनासो छ । पछिल्लो क्यामेरा प्रविधि र यसको अध्ययन अनुसन्धानको विधिबाट भने अव पहिरो नियन्त्रण वा रोकथाममा केही सकारात्मक नतिजा आउछ कि भन्ने कुरामा भने आशा पलाएको स्थानीय प्रकाश गुरुङ्गको भनाई छ ।
लुम्बिनी प्रदेश सरकारले पनि ’मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, ०८२’ का आधारमा करिब ५ लाख २३ हजार जनसंख्या प्रभावित हुने अनुमानसहित कार्य योजना निर्माण गरेको छ । पछिल्ला १० वर्षमा मात्र १ हजार ६ सय १८ विपत्का घटनाबाट ८ हजार ३ सय १५ परिवार प्रभावित भइसकेका छन् । यसै अवधिमा ४ सय ५९ जनाले ज्यान गुमाएका छन् । प्रदेशस्तरमा प्रभावित क्षेत्रका सुरक्षाकर्मी, स्वयंसेवक परिचालन, राहत तथा पुनःस्थापनाको व्यवस्था, खाद्यान्न तथा स्वास्थ्य सेवा सुनिश्चित गर्ने निर्णय गरिएको छ ।