© २०२३
काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणलाई राष्ट्रिय समस्या भन्दै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि बोल्दै उनले गृहमन्त्रीले संसद्को रोस्ट्रमबाटै एक महिनाभित्र समिति गठन गर्ने प्रतिबद्धता जनाइसकेको स्मरण गराउँदै ढिलाइ नगर्न आग्रह गरे।
पाण्डेले भिजिट भिसा प्रकरण समाधान गर्न माओवादी केन्द्र र सत्तापक्षबीच दुईबुँदे सहमति भए पनि त्यसको कार्यान्वयन नभएको उल्लेख गर्दै असन्तुष्टि जनाए। उनका अनुसार यस्तो गम्भीर विषयमा सरकारको निष्क्रियता राजनीतिक एवं नैतिक रूपमा स्वीकार्य छैन।
यसअघि निरन्तर सदन अवरुद्ध भएपछि सत्तापक्ष र माओवादीबीच उक्त सहमति कायम भएको थियो, जसपछि माओवादीले विरोधका कार्यक्रम फिर्ता लिएको थियो। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने छानबिन समिति गठनको माग कायम राख्दै सदनमा अवरोध जारी राखेका छन्।
पाण्डेले सरकारले संसद्मा देखिएको असन्तोषलाई हल्का रूपमा नलिइ वास्तविक अनुसन्धान प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, छानबिन समिति गठनमार्फत मात्र सत्यको पहिचान र विश्वसनीयता कायम रहन सक्नेछ।