© २०२३
काठमाडौँ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सिनेट बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ७४ करोड ४१ लाख रुपैयाँको बजेट पारित गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा बजेटसँगै नीति, योजना र कार्यक्रमहरू पनि पारित गरिएको हो।
बैठकले चार सय श्यैयाको आधुनिक शिक्षण अस्पताल निर्माण, शैक्षिक कार्यक्रम विस्तार, अनुसन्धानात्मक गतिविधि र व्यवस्थापन सुदृढीकरणमा बजेट केन्द्रित गर्ने निर्णय गरेको छ। यसै बैठकमा प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवा, शर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्रावधानमा संशोधन गरिनुका साथै प्रतिष्ठानको लोगो परिवर्तन गर्ने निर्णय पनि पारित भएको छ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राप्ती प्रतिष्ठानलाई पूर्वाधार, जनशक्ति र सेवा प्रणालीका हिसाबले देशकै एक उत्कृष्ट स्वास्थ्य तथा शैक्षिक केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले ‘निरोगी नेपाल’ अभियानलाई अगाडि बढाउन चिकित्सक र स्वास्थ्यकर्मीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत जनचेतना फैलाउने भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।
प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बैठकमा चार सय श्यैयाको शिक्षण अस्पताल निर्माणका लागि गुरुयोजना अनुसार कार्यान्वयन अगाडि बढेको जानकारी गराएका थिए। बजेट तथा योजनाको पारितिसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी वर्षदेखि थप सशक्त ढंगले सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ।