© २०२३
काठमाडौँ ।
चितवनको भरतपुरमा रहेको नारायणी नदीमा बग्दै गरेका एक पुरुषलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा माथिबाट बग्दै गरेका झण्डै ४० देखि ५० वर्ष उमेर समूहका पुरुषलाई देखेपछि सशस्त्र प्रहरीको टोली तत्कालै उद्धारमा खटिएको थियो।
सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ती व्यक्तिलाई जिउँदै उद्धार गरेर तत्काल भरतपुर सरकारी अस्पताल पठाइएको हो। उद्धारपछिको प्रारम्भिक उपचारका लागि उनलाई अस्पतालमा भर्ना गरिएको र अहिले अवस्था स्थिर रहेको जानकारी दिइएको छ।
उक्त व्यक्तिले हालसम्म आफ्नो नाम, ठेगाना वा पहिचान खुलाउन सकेका छैनन्। प्रहरीका अनुसार उनको मानसिक अवस्था सामान्य नदेखिएको हुनसक्ने आशंका गरिएको छ, तर विस्तृत विवरण अझै आउन बाँकी छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।