ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

जसको महाप्रस्थानमा सबैका आँखा रसाए

८ असार २०८२, आइतबार
८ असार २०८२, आइतबार

मानिस जन्मिएपछि एक दिन अवश्य नै मर्न पर्दछ । अर्थात् जो जन्मन्छ त्यसले मृत्युपनि सँगै लिएर आएको हुन्छ । तर जन्म र मृत्युको अन्तरमा गरिएका कर्महरूका कारणले नै उसको देश तथा समाजमा सुकीर्ति रहने हो । मरेपछि पनि जिउँदाहरूले उसको चर्चा गर्ने हुन् । सबैको सबैतिर प्रभाव नहुनपनि सक्दछ । कसैको राजनीतिक क्षेत्रमा प्रभाव त कसैको सामाजिक क्षेत्रमा एवम् कसैको शैक्षिक त कसैको धार्मिक । तर यहाँ मैले चर्चा गर्न लागेका एकजना आदरणीय व्यक्ति हुनुहुन्छ– उहाँको माथि उल्लिखित सबै क्षेत्रमा योगदान थियो । उहाँ हुनुहुन्छ –२०८२ सालको असार २ गते आषाढकृष्ण पञ्चमी तिथिका दिन दिवङ्गत – पूर्व मन्त्री ढुण्डिराज शास्त्री ।

१.जन्म एवम् शिक्षा
आदरणीय बुबा ढुण्डिराज शास्त्रीको जन्म वि.सं. १९९३ साल जेठ २५ गते आषाढकृष्ण तृतीयाका दिन तात्कालिक गुल्मी जिल्लाको किमडाँडा पञ्चायतको निमडाँडा (हाल अर्घाखाँची जिल्ला अन्तर्गत भुमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट, निमडाँडा) मा पं. खेमराज पौडेल एवम् उहाँकी कान्छी धर्मपत्नी सावित्री पौडेलका प्रथम पुत्ररत्नका रूपमा भएको थियो । पं. खेमराजमा भएको शिक्षाप्रतिको श्रद्धाका कारणले आफ्नै घरमा आफैँद्वारा स्थापित तात्कालिक अवस्थामा दलाने पाठशालाका रूपमा जानिने शिक्षालयमा भान्जादाइ टङ्कप्रसाद ज्ञवालीबाट साक्षर बनी डिभर्नाका पण्डित रुद्रनाथ आचार्य, भ्वाङ्का पं. गोविन्दप्रसाद मरासिनी, एवम् अँधेरीका पं.घनश्याम आचार्यबाट लघुकौमुदीको अध्ययन गरी हरिहर संस्कृत पाठशाला खिदिममा पं. घनश्याम पौडेलसँग मध्यकौमुदीको अध्ययन सकी उच्च शिक्षाकालागि वाराणसी जानुभएको कुरा उहाँले कुरा गर्ने सिलसिलामा आफैँ भन्ने गर्नुहुन्थ्यो । वाराणसीबाट शास्त्री कक्षा उत्तीर्ण गरेपछि आधुनिक जमाना अनुसार व्यवहारका लागि अङ्ग्रेजी पनि पढ्नुपर्दछ भन्ने चाहनाले पछि वि.ए. पनि उत्तीर्ण गर्नुभएको थियो ।

२. राजनैतिक प्रेरणा, गुरु र त्यसपछिको सहभागिता
जीवनको उत्तराद्र्धको समय तनहुँको देवघाटधाम र काठमाडौँको लोकन्थलीमा प्रायः विताउनुभएका बुबालाई मैले प्रश्न गर्ने गर्थेँ – बुबा हजुर त पण्डितको छोरो कसरी राजनैतिक जीवनमा होमिनुभयो ? अनि उहाँले विस्तारै विस्तारै आफुले राजनैतिक जीवनमा होमिनुको कारणबारे यसरी भन्नुहुन्थ्यो – “घरमा आफ्ना भान्जादाईसँग पढ्दै गर्दा एक दिन गर्मीको समय शितल खान भनी नजिकैको हटिया भन्ने स्थानमा हामी केही साथीहरू भएर त्यता गएका थियौँ । त्यसै सिलसिलामा एकजना युवकलाई साङ्लाले बानेर पुलिसले ल्याएको देखेँ । पुलिस भनेपछि त्यो बेलामा एकदमै डर लाग्ने हुनाले हामीले पनि डराइ–डराइ त्यो दृश्य देख्यौँ । अनि केही समयपछि एकजना त्यतैतिरबाट आएका बाटो हिँड्ने मानिसलाई हामीले यी मानवलाई किन यसरी दुःखदिँदै बाँधेर लगेका हुन् ? यिनको अपराध के हो ? भनी सोध्दा वर्तमानमा रहेको राणाशासनको विरुद्ध बोलेकाले यिनलाई पुलिसले यसो गरेका हुन् ।

राणाशासनले गर्दा जनताले यसरी दुःखपाएका छन् भन्ने कुरा उनीबाटै बुझ्यौँ । म अलि अन्याय नसहने मानिस भएकाले उनले राणाशासन र प्रजातन्त्रको लागि नेपाली काङ्ग्रेसको भूमिकाबारे भनेका कुराले मलाई त्यतिखेरै प्रभाव पार्यो । त्यसैदिन उनले हामीलाई नेपाली काङ्ग्रेसको चारतारे झण्डा कापीमा कोरेर दिएका थिए । अनि त्यसै दिन अरू पनि मेरा साथीहरूको साथमा मैले भट्याउँदै नेपाली काङ्ग्रेस जिन्दावाद, राणाशाही मूर्दावादको नारा लगाउँदै लात्तेमाझ र हटिया परिक्रमाग र्यौँ । मलाई त्यसरी पुलिसले निहत्था जनतालाई पशुलाई भन्दापनि निर्मम तरिकाले बाँधेर लगेकाले राजनैतिक जीवनमा जाने प्रेरणा आयो” । यसरी उहाँले आफुले राजनीतिमा लागेको कुरा बताउनुभएको थियो ।

यसपछि आफ्ना बुबालाई यस कुराको थाहा हुँदा छोरालाई पुलिसले मार्ने डर भएछ भने तर आमाले थाहा पाउँदा भने स्यावास छोरा यसरी नै अन्यायविरुद्ध लड्दै जानू भन्नुभएको रहेछ । यसैले उहाँले आमालाई नै आफ्नो पहिलो राजनैतिक गुरुका रूपमा मान्नुभएको रहेछ । साँच्चै उहाँकी आमा, हाम्रीपनि अभिभावक जसका पति पं. खेमराज पौडेलबाट मेरी आँवै गिरीलाल खनालले मन्त्रदीक्षा लिनुभएको रहेछ । त्यसैले हामीले पनि उहाँलाई गुरु जिजुहजूर आमाका रूपमा आदर गर्ने गथ्र्यौँ । उहाँको घरमा पुजा भएको समयमा पिताजीसँग जाने मौका मलाई सानैमा मिल्दा उहाँले बच्चादेखि त्यहाँ उपस्थित बृद्धसम्मलाई गरेको वैदिक साम्यवादी माया ममता मेरा लागिपनि प्रेरणादायी भएको थियो ।

पछि उहाँलाई विरामी भएर काठमाडौँको वीर हस्पिटलमा भर्ना गर्दा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापनि पटक–पटक जाने गर्नुहुन्थ्यो रे । आफ्ना छोरा र उहाँको खटपटी थाहापाएकी उहाँले गिरिजाबाबुलाई लडेर ल्याएको प्रजातन्त्रलाई सबैले मिलेर जोगाउने प्रेरणा दिनुभएको रहेछ । उहाँका ती प्रेरणादायी मातृवात्सल्यरूपी वचन सुन्नका लागि अति व्यस्त अवस्थाका बाबजुदपनि गिरिजाप्रसादको हस्पिटलमा गवाई हुने गथ्र्यो रे । वि.स. २००९ सालमा नेपाली काङ्ग्रेसको सदस्यता लिनुभएका शास्त्री बुबाले त्यसपछिको वि.सं. २०१५ सालको आमनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजय गराउन ठूलो भूमिका खेल्नुभएछ । पछि राजा महेन्द्रले वि.सं.२०१७ सालमा संसद विघटन गरी प्रत्यक्ष शासन सुरु गरेपछि त्यसको विरोधमा उहाँपनि लागी जनसमुदायमा क्रान्तिको विगुल फुक्दै हिँड्नुभएको रहेछ । नेपाली काङ्ग्रेसको पटना सम्मेलनले राजालाई यस खालको कदम फिर्ता लिन आग्रह गरेतापनि राजाले नमान्दा नेपाली काङ्ग्रेसले सशस्त्र आन्दोलनको घोषणा गरेछ ।

सशस्त्र आन्दोलनका बखतपनि बुबाले आफ्नो भूमिकालाई झनै बढाउँदै लैजानुभएछ । घरमा बुबा सिकिस्त विरामी अवस्थामा उहाँलाई भने सरकारले पक्राउ पुर्जी जारी गरेर समाउने प्रयास पनि गरेको रहेछ । त्यतिखेर भने आफ्नीमाताजीको योजना अनुसार भाग्न सफल हुनुभएछ । तर पछि पिताजीको देहान्त भइसकेपछि भने उहाँलाई क्रियाकर्मको अन्त्यपछि पक्रेर तम्घास राखीकेही समयपछि पाल्पा जेलमा लैजाने तयारी भएका बेला चिदिकाका प्रधानपञ्च मानबहादुर ज्ञवालीको जमानीमा तारेखमा रहने गरी छुटाइएको रहेछ । त्यसपछि पनि गाउँगाउँमा राजनैतिक चेतनाकालागि उहाँ भूमिगत हुँदै लागिरहनुभएछ ।

वि.पि.सँग निरन्तर सम्पर्कले उहाँमा समाजवादको चेतना आएछ । गणेशमान र कृष्णप्रसाद भट्टराईका सङ्गतले पनि उहाँले धेरै कुरा सिक्नुभएछ । यसरी धेरैजसो नेपालमैँ त कहिले भारतका सिलाङ् र वनारस आदि विभिन्न स्थानमा अध्यापन गराएर आफ्नो एवम् आफुसँगका साथीहरूको समेत गुजारा चलाउँदै आएका उहाँको २०४६ सालको परिवर्तन हुनुभन्दा पहिलेको समय राजनैतिक चेतना र क्रान्तिमैँ केन्द्रित भई देशमा प्रजातन्त्र ल्याउनका लागि वितेको रहेछ । उहाँले तलव बुझ्ने दिन हो भनेपछि उहाँसँग पैसा माग्नेहरूको भिड लाग्ने गरेको कुरा समाजसेवी एवम् नेपाली काङ्ग्रेसका पुराना नेता स्व. तिलकप्रसाद सापकोटाले सुनाउने गर्नुहुन्थ्यो । यस्तै प्रकारका जीवनमा घटेका विषयलाई उहाँकी कान्छी धर्मपत्नी माया भुसाल पौडेल आमाले पनि ‘पर्दा भित्रलुकेका अर्घाखाँचीका आमा’ भन्ने पुस्तकमा विस्तृत तरिकाले प्रस्तुत गर्नुभएको छ ।

३. सांसद एवम् सरकारमा सहभागिता
वि.सं. २०४८ सालको आमनिर्वाचनका समयमा म सानै अवस्थामा भएपनि उहाँको विजय जुलुसका बारेमा याद आउँछ । उहाँको विजयीसभा र जुलुस सभ्य र भव्य भएको थियो । वनारसमा सँगै बसेका एमालेका मोदनाथ प्रश्रित, जो उहाँका गुरुका पुत्रपनि हुनुहुन्थ्यो, उहाँलाई भारी मतका साथ पछाडि पारी विजय हासिल गर्नुभएको थियो । प्रजातन्त्रका लागि सानै उमेरदेखि लड्दै आउनुभएका उहाँले भोट माग्न जाँदापनि मोदनाथ या मलाई जसलाई मन लाग्छ दिनुहोला भन्नुहुन्थ्यो । संख्यात्मक र गुणात्मक रूपमापनि एमाले अर्घाखाँचीमा बलियै भएपनि बुबाको व्यक्तित्वका अगाडि उनीहरू अकल्पनीय रूपमा धेरै पछि परेका थिए । यसपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा बुबा उद्योगमन्त्री बन्नु भएको थियो ।

तर बुबाले काममा केही लय ल्याउने बेलामा छोटै समयमा नै उहाँ लगायत केहीलाई मन्त्री पदबाट हटाइएको थियो । नेपाली काङ्ग्रेसमा कलहको बीजारोपण गिरिजाबाबुले यहीँबाट गर्नुभएको थियो । यसै समयको सेरोफेरोमा कृष्णप्रसाद भट्टराईलाई पनि काङ्ग्रेसमा भएको अन्तर्घातकै कारणले उप–निर्वाचनबाट पनि सांसद बन्नबाट रोकिएको थियो । यसको केही समयमा गिरिजाबाबुको नेतृत्वको तात्कालिक सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई संसदमा पेश गर्दा ३६ जना काङ्ग्रेसकै सांसदको अनुपस्थितिका कारणले पास नहुँदा गिरिजाप्रसाद कोइरालाले आफ्नो पार्टीको एकल बहुमतवाला सरकार पनि विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गर्नुपरेको थियो ।

यसपछि भएको २०५१ सालको मध्यावधि निर्वाचनमा पनि ढुण्डिराज बुबाले अर्घाखाँची जिल्लाको क्षेत्र नं. २ बाट बहुमत हासिल गरी निर्वाचित हुनुभएको थियो भने एमालेको नौँमहिने शासनकालपछि शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा १७ महिना जति पुनः उद्योगमन्त्री बन्ने सौभाग्य प्राप्त गर्नुभएको थियो । यसपछिका लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा सरकार पछिको २०५५ वैशाख महिनामा बनेको नेपाली काङ्ग्रेसको सरकारमा उहाँ लगायतका विद्रोही काङ्ग्रेसी नेताहरूको पनि शक्ति सन्तुलन गर्नका लागि उहाँलाई लगभग पाँचमहिना उद्योग तथा श्रम मन्त्रीमा नियुक्ति गरिएको थियो । पछि सो मन्त्रालय तात्कालिक मालेका भागमा परेपछि बुबा स्वतः मन्त्रीपदबाट हट्नुभएको थियो । उहाँको तीनवटै समयको मन्त्रीपदको कार्यकाल अत्यन्तै जनमुखी थियो । देशमा विकासको मूल कसरी फुटाउन सकिन्छ भन्ने धारणाका साथ भएको उहाँको देशसेवा पूर्णरूपमा भ्रष्टाचाररहित थियो ।

४. नेपालमा संघीयताको विगुल फुक्ने पहिलो समाजवादी नेता
जनताहरूमा राजनैतिक चेतना भर्दै हिँड्ने उहाँको देशमा परिवर्तन गरेपछि यसलाई छोटो समयमै कसरी विकासको तीब्रगतिमा लैजान सकिन्छ भन्ने विचार भइरहेको हुन्थ्यो । धेरै फजुल कुरा गरेर समय विताउनुको सट्टा उहाँले यस्तै विषयका बारेमा चिन्तन गर्नुहुन्थ्यो । उहाँले २०५० सालमा नै नेपाललाई पाँचविकास क्षेत्रको सङ्घीयताको मोडलमा लगी विकासको मोडेल ल्याउने योजनाका बारेमा नेपाली काङ्ग्रेसमा प्रस्ताव ल्याउनुभएको रहेछ । अझ माओवादी जङ्गल पसेपछि त २०५३ सालमा काठमाडौँमा भएको नवौँ महाधिवेशनमा देशलाई संघीयतामा लैजान ढिला गर्नै नहुने बताउनुभएको रहेछ । यो कुरा त्यतिखेरै कसैले टेरेनन् अनि आखिर त्यसैका कारणले देशले दशकौँ लामो युद्धको सामना गर्नुपर्यो ।

उहाँ नेपालमा स्थायी शान्तिको लागि समाजवाद अपरिहार्य भएको कुरा गर्नुहुने नेताका रूपमा परिचित हुनुहुन्छ । विश्वेश्वरप्रसाद कोइरालासँगको बसाईका क्रमले उहाँमा यस किसिमको चेतना आएको रहेछ । अहिले नेपालमा विभिन्न नेताहरूले आफुलाई समाजवादी नेताका रूपमा परिभाषित गर्ने गरेका छन् । पार्टीको नामपनि त्यसै अनुसार राख्ने गरेका छन् । तर उनीहरूको समाजवादमा विदेशीवादको गन्ध आउँछ, यहाँका धर्म, संस्कार र संस्कृतिप्रतिको सम्बोधनको सट्टा मन्दविष छरिएको छ । हाम्रा धर्म, संस्कार त विकासका बाधकका रूपमा परिभाषित गरेर उनीहरूले अर्कै विदशी धर्मलाई भित्राएपछि समाजवाद आउँछ भन्ने विषयलाई घुमाउरो पारेर गर्छन् । तर ढुण्डिराज शास्त्रीबाट परिभाषित समाजवाद वेदवाणी “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्जनः” आधारित रहेछ । यो समाजवादमा राजा, नेता एवम् जनता सवैबाट देश सेवा गर्ने मोडेललाई राखिएको रहेछ । उहाँद्वारा अथ्र्याइएको समाजवादको व्याख्या उहाँले लेख्नुभएका विभिन्न पत्र–पत्रिकामा प्रकाशित भएकाले यहाँ पिष्टपेषण गर्नेकाम गरिएको छैन ।

अन्त्यमाः
लगभग १५ दिन अगाडि उहाँकी जेठी श्रीमतीको निधनको सातौँ दिनमा भएको उहाँसँगको बसाई नै अन्तिम भयो । बुवाले भोलि आएस भनेर बोलाउँदापनि मेरो कार्य विशेषले मलाई बाहिर जानुप¥यो । मेरा जीवनका कठिनाईमा पनि अन्यन्तै नजीकबाट पिताजीसरहको भूमिका निर्वाह गर्नुहुने बुबाले मैले नसम्झँदा समेत फोन गर्ने गर्नुहुन्थ्यो । सुनाई कम र बोलीमा स्पष्टता नभएकाले कुरो बुझ्न त गाह्रो हुन्थ्यो तर पनि ती बुबाका वचन अमृत सरहका हुन्थे । बुबाबाट धेरै कुरा लिने भनेर कुर्दाकुर्दै केहीपनि लिन सकिएन । बुबाको समय हुँदा समेत मै अभागीको समय भएन । अझै पनि बुबा लुख्रु लुख्रु लौरो टेक्दै घरमा आउनुहुन्छ किनभन्ने भान हुन्छ । उहाँको अभावमा म मात्र होइन उहाँसँग सङ्गत गरेका जो कोहीपनि आज रोइरहेका छन् । देवघाटधामले विगत १५ वर्षदेखि पाएको अभिभावकत्व पनि गुमाएको छ भने राष्ट्रले एकजना महत्वपूर्ण पिता गुमाएको छ । नेपाल आमाले एक असल सपुत गुमाएकी छिन् । अब शोक गरेर पनि के गर्ने ? त्यसैले आफ्नो कार्य, पुस्तक र लेख रचनाका माध्यमले राष्ट्रको चिन्तन गर्ने आदरणीय बुबाको शिवसायुज्य गतिकालागि भगवान् आशुतोषसँग प्रार्थना गर्नुबाहेक हामीसँग अब केही रहेन । अश्रुपूर्ण श्रद्धाञ्जलि बुबा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?