© २०२३
करिब दुई महिना अघि वैज्ञानिकहरूले यो वर्ष अत्यधिक गर्मी हुने र अत्यधिक वर्षा हुने चेतावनी दिएका थिए । वैज्ञानिकहरूले भनेजस्तै गरी यो वर्ष जति गर्मी बढेको छ, त्यत्ति नै भारी वर्षा हुने क्रम सुरु भैसकेको छ । विगतका वर्षहरूमा असार १५ पछि मात्रै रोपाई सुरु हुने गरेकोमा यो वर्ष असार नलाग्दै तराईमा रोपाई सुरु भैसकेको छ । तापमान वृद्धिको असर मौसममा पनि परेको छ र कतै वर्षा नहुने, कतै कम र कतै भारी वर्षाले मानव जीवनलाई प्रभावित बनाएको छ । जेठको धूपमा तराईमा यो वर्ष ४५ डिग्रीसम्म गर्मीको रेकर्ड कायम भयो । बुटवलमै ४३/४४ डिग्रीसम्म तापमान पुग्यो । बुटवलमा मात्रै होइन, गर्मीको महसुस विश्व भरी नै भएको छ ।
त्यसमा पनि पहाडमा जाडो हुने बेला गर्मीको महसुस गर्नुपरेको अवस्था उत्पन्न भएको छ । अबको दिनमा विश्वभर बढ्दो तापमानको चिन्ताबिच तापमान नियन्त्रणको चुनौती पनि देखिएको छ । हरेक वर्ष गर्मी यही अवस्थामा रहने र देखिने हो भने निश्चित रूपमा मानव जीवनका लागि अति जोखिम हुनेछ । मानव जीवनका लागि बढ्दो तापमान चुनौती भएको छ । त्यसो त विश्वमा तापमान वृद्धि भौतिक सुख–सुविधामा रमाउने मानवीय कारणले उत्पन्न हुँदै छ । औद्योगिक क्रान्तिपछि भएको विकासले प्राकृतिक स्रोत दोहनलाई तीव्र बनाएको छ ।
अहिले पनि जैविक इन्धन नै ऊर्जाको मूल स्रोत बनेको छ । त्यसले फाल्ने दूषित धुवाँ नै विश्व तापमान बनाउने मूल कारण हो र आज पृथ्वीका अधिक प्राकृतिक सम्पदा जोखिममा छन् । त्यसको प्रत्यक्ष असर यो वर्ष नेपालका सबै क्षेत्रमा देखा परेको छ । पहिलो सङ्केत तापमान वृद्धि नै हो । तराईमा अहिले तापमान वृद्धिको असरले चुनौती सिर्जना गरेको छ । यही रफ्तारमा गर्मी बढ्दै जाने हो भने बस्न सकिने अवस्था पनि नरहन सक्छ भन्ने चिन्ता उत्पन्न भएको छ ।
तापमान वृद्धिले केवल मानवलाई मात्रै होइन कि संसारभरिका ५० वटा हिमाली विश्व सम्पदा क्षेत्र लोप हुने अवस्थामा पुग्न सक्ने चेतावनी दिइएको छ । यसको एउटै कारण हो– विश्वमा तापक्रम वृद्धि । जसकाकारण हिमाली क्षेत्रका हिउँ पग्लिने क्रमले तीव्रता पाउन थालेको छ । गएको पुस माघ महिनामै नेपालका धेरै हिम शृङ्खलाहरू कालो पहाड बनेका थिए । धनी राष्ट्रले औद्योगिक विकासका नाममा उत्सर्जन गरेका कार्बन डाइअक्साइड लगायतका विषाक्त ग्याँसको दुष्प्रभावले विश्व प्रभावित भएको छ । अबको दिनमा विश्व तापक्रम वृद्धि घटाउनेतर्फ विश्वका ठुला औद्योगिक राष्ट्रले ध्यान दिएनन् भने ती देश पनि जोखिममा पर्नेछन् ।
तसर्थ अबको दिनमा तापमान बुद्धिलाई नियन्त्रणमा राख्ने हो भने जलवायु परिवर्तनको प्रभाव कम गर्नेतर्फ ध्यान जाओस् । औद्योगिक प्रदूषण नियन्त्रणका लागि औद्योगिक शक्ति राष्ट्रहरूलाई दबाब दिन नसक्ने हो भने तापमान वृद्धिले मानव जीवनमाथि ठुलो चुनौती खडा गरिदिनेछ । वैज्ञानिकहरूले विश्व तापक्रममा दुई डिग्री सेल्सियसको वृद्धि हुनसक्ने आशङ्का गरेका छन् । यही तापक्रममा थप दुई डिग्री बढ्ने हो भने निश्चित रूपमा नेपाल मात्रै होइन विश्व समुदाय प्रभावित हुनेछ ।
अहिलेको तापक्रममा थप चार डिग्री तापक्रम बढ्यो मानव समाजको अस्तित्व के होला ? यो विषयमा सायदै विश्वले सोचेको छैन । त्यही भएर अहिले शक्ति राष्ट्रहरूका बिच कार्बनसहितको औद्योगिक प्रदूषण होडबाजी चलेको छ । नेपालले पनि अव सोच्ने बेला आएको छ । नेपालले वातावरण संरक्षण गरेको नाममा विदेश डलर कमाउने मात्रै होइन, विश्वलाई तापमान वृद्धि नियन्त्रण गर्न आह्वानसँगै दबाब पनि दिनु जरुरी छ । यो विषयमा नेपाल सरकारको ध्यान जाओस् । तापमान वृद्धिको असरबाट मानव जीवनलाई सुरक्षित गर्ने हो भने अव चिन्ता गर्ने बेला आइसक्यो ।