सुर्खेत,८ असार ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । पालिकाले नीति कार्यक्रम निर्माणको तयारी गर्दै गर्दा नागरिकको राय सुझाव मागेको छ । वीरेन्द्रनगरको सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा नगरवासीहरूको रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा नगरपालिकाले गरेको छ । नगरपालिकालाई सुझाव दिन फेसबुक पेज तथा हेलो मेयर टोल फ्री नम्बर १८१०५०५०००२५२ मार्फत सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।
नगरभित्रको विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसम्बन्धी कुनै पनि सल्लाह, सुझाव र गुनासो भएमा उक्त टोल फ्री नम्बरमा निःशुल्क फोन गर्न सकिने व्यवस्था मिलाइएको नगर प्रमुख ढकालले जानकारी दिइन् । ‘नगरपालिकाका कुनै पनि नीति तथा कार्यक्रमको विषयमा नागरिकको सुझाव लिइरहेका छौ’ नगरप्रमुख ढकालले भनिन्, ‘नागरिकको सुझाव लिनको लागि हामीले टोल फ्री नम्बरको पनि व्यवस्था गरेका छौ ।’ नगरपालिकाले नागरिकका सुझाव लिनको लागि सूचना समेत जारी गरेको छ ।
‘वीरेन्द्रनगरको समृद्धि र दिगो विकासका लागि नागरिकको सहयोग र अर्थपूर्ण सहभागिता अपरिहार्य हुन्छ । अहिले वीरेन्द्रनगर नगरपालिका आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमको तयारीको क्रममा छ । आगामी आर्थिक वर्षमा नगरपालिकाले के–कस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दा राम्रो होला ? यस विषयमा यहाँहरूको रचनात्मक सुझावका लागि अनुरोध छ,’ नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।