© २०२३
बर्दघाट, ७ असार । पछिल्लो ६ दिन देखि पूर्व पश्चिम राजमार्ग ठप्प प्राय रहेको छ । विनयी त्रिवेणी गाँउपालिका वडा नम्बर १ को विनय खोलामा बनाइएको डाइभर्सन पटक पटक बगेपछि पूर्व पश्चिम राजमार्ग भएर गुडने सवारी साधनहरु पश्चिमबाट पूर्व जाने बर्दघाट क्षेत्र र पूर्व बाट पश्चिम जाने दुम्किबास पूर्व अरुणखोला क्षेत्रमा रोकिएका छन । विहिबार ३० घण्टासम्म सवारी सँचालन हुन सकेन, तत्पश्चात आँशिक रुपमा सवारी सुचारु भएपनि आज (शनिबार विहान १० बजे) पनि गएराती देखी नै सवारी आवागमन बन्द रहेको छ ।
यो राजमार्ग भइ सँचालन हुने सवारी बर्दघाटको बजार क्षेत्रमा रोकिँदा यात्रु र मालवाहक सवारीका चालक सहचालक लाई खानाको समस्या नभए पनि शौचालयको समस्या रहेको छ । बजार क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुनु र सवारी जाम लाग्दा भएको घुम्ति शौचालय समेत प्रयोगमा आउन नसक्दा बजार नै दुर्गन्धित हुँदै गएको बजारबासीको गुनासो रहेको छ ।
दिउसोमा जाम लाग्दा त कहिँ कतै अनुरोध गरेर शौचालय जाने गरेका यात्रु, सवारी चालक रातीमा भने सडक छेउमै शौच गर्न बाध्य छन । बर्दघाट नगरपालिकाले नगरभित्र कुनै कार्यक्रम, मेला, महोत्सव लगायत भिडभाड हुने स्थानमा सहज शौचको लागि घुम्ति शौचालय निर्माण गरेको छ तर पछिल्लो समय एक हप्तादेखी नियमित सडकमा सवारीको जामले सास्ती खेपेका यात्रु, चालक सहचालकहरुको लागि घुम्ति शौचालय ब्यवस्थापन गर्न नगरले चासो देखाएको छैन ।
“नगरमा भएको घुम्ति शौचालय जिम्मा लिएर सँचालन गर्ने सँस्था नहुँदा सँचालनमा ल्याउन सकिएको छैन, कुनै सँस्थाले जिम्मा लिएर सँचालन गर्छौ भनी निवेदन दिए सहज रुपमा नगरले उपलब्ध गराउँछ ।” बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको भनाइ छ । नगरमा शौचालय सँचालनका विषयमा कुरा उठेको र बर्दघाट जेसिजसँग समन्वय भइरहेको उनले जानकारी दिए ।
विपदको बेला उपलब्ध घुम्ति शौचालय सँचालनमा ल्याउन सँघसँस्था गुहार्नुको साटो नगरकै एक वा दुइ जना जनशक्ति परिचालन गर्न नगरले पहल गर्नुपर्ने स्थानिय बजारबासी बताउँछन । मुख्य बजार क्षेत्रमै करिव ५ सय बढि सवारी गएरातीदेखी जाममा फँसेका छन, उनीहरुले गरेको शौचका कारण बजार नै दुर्घन्धित हुँदै जाँदा नगर मौन रहेको स्थानियबासीले गुनासो गरेका छन ।
“भिडभाड हुने स्थानमा सहजताको लागि घुम्ति शौचालय निर्माण गरिए पनि अहिले सहज सँचालन हुन नसक्दा यात्रु मारमा परेका छन, यथाशक्य सँचालनको लागि काम अघि बढ्छ” नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यायले भने ।
पूर्व पश्चिम बाटो निर्माणको क्रममा बर्दघाट बजारको मुख्य चोकमा रहेको सार्वजनिक शौचालय भत्काइए पछि उक्त स्थानमा अस्थायी रुपमै भएपछि घुम्ति शौचालय वा अस्थायी शौचालय राख्नुपर्ने माग धेरै अघिदेखी नै उठदै आएको छ ।
बर्दघाट बजारको करिव २ किलोमिटर क्षेत्रमा अहिले चिसापानी र टि सि यन चोकमा मात्र सार्वजनिक शौचालय सँचालनमा रहेका छन ।
खानेपानी संस्थाको सराहनीय पहल
निरन्तर सवारी जाम लागेर यात्रुहरुलाई पिउने पानी र शौचालयको समस्या देखिए पछि बर्दघाट खानेपानी सँस्थाले निशुल्क शौचालय र पानी प्रयोगका लागि सबैलाई अनुरोध गरेको छ ।
बर्दघाट नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र रहेको र बर्दघाट खानेपानी सँस्था सरसफाईमा समेत कार्य गर्ने सँस्था समेत रहेकोले खुल्ला शौच नगर्न र कार्यालय परिसरमा भएका सबै शौचालयहरु निशुल्क प्रयोगका लागि खुल्ला गरिएको सँस्थाका अध्यक्ष दिपक लम्सालले बताए ।
जाममा अधिकाँश मालवाहक सवारी रहेका र अधिकाँश सवारी चालक सहचालकले खाना समेत आफै पकाउने हुँदा कार्यालय परिसर र बाहिर समेत ब्यवस्थापन गरिएको धाराको पानी निशुल्क प्रयोग गर्न सक्ने लम्सालले बताए ।