© २०२३
बर्दघाट, ७ असार ।
बर्दघाट जेसिजले बर्दघाट नगरपालिकासँग समन्वय गरी घुम्ती शौचालय सञ्चालन गरेको छ । सार्वजनिक शौचालय नहुँदा यात्रुलाई सास्ती भएको समाचार बुटवल टुडे डट कम मा प्रकाशित भए लगत्तै घुम्ती शौचालय सञ्चालनमा ल्याइएको हो ।
बुटवल नारायणघाट सडक पूर्ण अवरुद्ध बनेपछि जाममा परेका सवारीका यात्रु र चालक सह चालकहरुलाई शौचालयको व्यवस्था हुन नसक्दा सास्ती भोग्नु परेको थियो । पछिल्लो एक हप्तादेखि सहज सडक सञ्चालन हुन नसक्दा बर्दघाट बजार क्षेत्रमा ५ सय बढी सवारी जाममा परेका छन् ।
बर्दघाट जेसिजले यात्रु र चालक सह चालक लगायत सर्वसाधारणको सुविधाको लागि नगरसँग समन्वय गरी घुम्ती शौचालय सञ्चालनमा ल्याएको बर्दघाट जेसिजका अध्यक्ष मोहन सापकोटाले बताए । “मुख्य बजार चोकमा रहेको शौचालय सडक निर्माणको क्रममा भत्किएपछि समस्या भइरहेको थियो, अहिले जामले झन् समस्या बनायो, कम्तीमा शौचालयको व्यवस्था गरिनुपर्छ भनेर हामीले नगरसँग समन्वय गरी घुम्ती शौचालय सञ्चालन गरी सहज बनाउने प्रयास गरेका छौँ” अध्यक्ष सापकोटाले बुटवल टुडेलाई बताए ।
घुम्ती शौचालय सञ्चालनका लागि बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आवश्यक पानी र बर्दघाट बजार विकास समितिले शौचालय हिँडाउन ट्याक्टरको व्यवस्थापन गरी सहकार्य गरेका छन् ।