© २०२३
भैरहवा, ७ असार ।
रुपन्देहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले दिएको जानकारी अनुसार बनगाइ–मर्चवार सडक खण्डको मायादेवी गाउँपालिका वडा नम्बर ७ गरगट्टिमा दिउसो साडे ३ बजे दुर्घटना भएको हो । बनगाई देखि मर्चवार तर्फ जाँदै गरेको लु २ ख २४७४ नम्बरको टिप्परले विपरीत दिशातर्फबाट आउँदै गरेका लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ बस्ने २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका वडा नम्बर ७ बस्ने १८ वर्षीय शिवनाथ ठाकुरको घटनास्थलमै मृत्यु भएको कार्कीले बताए । सोही मोटरसाइकलमा सवार मर्चवार गाउँपालिका वडा नम्बर ५ बस्ने १७ वर्षीय अमित यादव घाइते भएको र उनको उपचार भइरहेको र अवस्था अहिले सामान्य रहेको कार्कीले जनाए । ठक्कर दिने टिप्पर र सो का चालक प्रहरीले नियन्त्रणमा लिई यस विषयमा थप अनुसन्धान गरिरहेको कार्कीले जानकारी दिए ।