रूपन्देही ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किबास–दाउन्ने सडक खण्डमा ठूला तथा भारी सवारीसाधनको सञ्चालनमा रोक लगाइएको छ। हाल निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको पुल अझै सञ्चालनमा नआएकाले त्यसको डाइभर्सन सडक बारम्बार वर्षाले बगाइरहेको छ। यसले गर्दा डाइभर्सन चिप्लो बनेको छ र त्यहाँ सवारी फस्ने समस्या बढेको छ।

यही अवस्थालाई मध्यनजर गर्दै सडक विभाग र जिल्ला प्रशासन कार्यालयले मालबाहक सवारीसाधनलाई सडक प्रयोगमा रोक लगाउने निर्णय गरेका हुन्। पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार, नयाँ पुल पूर्ण रूपमा सञ्चालनमा नआएसम्मका लागि यो रोक जारी रहनेछ।
सडक खण्डका केही ठाउँहरूमा ग्राभेल राखेर मर्मत कार्य भइरहेका छन्। साथै, दुम्किबास–दाउन्ने खण्डमा दैनिक साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ। सम्बन्धित निकायले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरेका छन्।



