© २०२३
चन्द्रौटा, ०७ असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–१, थरौलीका नन्दबहादुर सुनारीको विगत भन्दा बिहीबार आँखामा चमक थियो । उनी यति बेला प्रायः खुसी देखिन्छन् । पाँच दशकको पीडालाई केही समयका लागि ओझेल पार्दै । “अब त पुर्जा पाइएला जस्तो लाग्यो” उनले भने । गाउँपालिकाको पुरानो सुकुम्वासी बस्तीमा एकाबिहानै पुगेको सरकारी नाप जाँच टोलीले बस्तीभर उत्साहको लहर फैलाएको थियो । खेत नभएका, लालपुर्जाबिना बसेका थरौलीका ५० घरधुरीका बासिन्दाका लागि यो दृश्य सपना जस्तै थियो ।
करिब ५० वर्षअघि पूर्व मन्त्री तथा साहित्यकार मोदनाथ प्रश्रितको पहलमा थरौली बस्ती बसालिएको स्थानीय जानकार बताउँछन् । आश्रयको खोजीमा यहाँ आएर बसोबास गरेका सुकुम्वासीहरू दिनहुँ श्रम गर्दागर्दै अब स्थायित्वको बाटोमा उन्मुख भएका छन् । यी बासिन्दाहरूको साझा पीडा एउटै छ “छानो त छ, तर कागज छैन ।” सरकारी कागजपत्र अर्थात् लालपुर्जाविना उनीहरूको अस्तित्व अझै अधुरो छ ।
भूमि समस्या समाधान आयोगले थरौलीमा बिहीबारदेखि नाप जाँच कार्य सुरु गरेपछि यहाँको वातावरण फेरिएको सुरु मगरले बताए । नापी टोलाको आगमनले बस्तीमा चहलपहल मात्र होइन, मनभित्र लामो समयदेखि दबिएको अधिकारको भावना पनि उजागर गरेको उनको भनाइ छ । आयोगका जिल्ला अध्यक्ष झबिलाल पोखरेलले नाप जाँचको उद्घाटन गर्दै भने “भूमिहीनको अधिकार सुनिश्चित गर्न हामी तीव्र रूपमा लागिरहेका छौँ । स्थानीय तहको साथमा काम छिटो अघि बढ्छ ।” यता गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बस्तीमै पुगेर लालपुर्जा वितरण प्रक्रियालाई उच्च प्राथमिकता दिएको बताए । उनले सुकुम्वासीहरूको सपना साकार गर्न प्रतिबद्धतासमेत जनाए ।
यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अब यो समस्या समाधान नजिक पुगेको बताउँदै स्थानीय तहसँगको सहकार्यले छिट्टै परिणाम देखिन्छ।” पालिकामा ३ हजार ५ सय भन्दा बढी घरधुरीमा भूमि सम्बन्धी समस्या छन् । त्यो सङ्ख्या आफैँमा एउटा चुनौती हो । यद्यपि आयोगका सदस्य मोहन केसी, मञ्जु थारु, टोप बहादुर बिक लगायत टोलीले नाप जाँच कार्य समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
६५ वर्षीय सुनारी जस्ता धेरै थरौलीवासीको जीवन यो लालपुर्जाले मात्रै परिवर्तन हुँदैन, उनीहरूको पहिचान र भविष्यको सुरक्षा पनि हो । अब उनीहरूका छोराछोरीले आफ्नो बाबुआमाले भोगेको अनिश्चित भविष्य होइन । कानुनी अधिकारसहितको जिन्दगी बाँच्नेछन् । पाँच दशकको धुलोले ढाकिएको सपना अब नापीको नाप सुरु भएसँगै हजारौँ नन्दबहादुरहरूको सपना पूरा हुने आशा पलाएको छ ।