© २०२३
पाल्पा, ०७ असार ।
रामपुर नगरको तिलकपुरकी ३२ वर्षीय पूर्णमाया कुमालकी जुम्ल्याहा मध्येको कान्छो छोरो पौने दस बज्नै लाग्दा विद्यालयको पोसाक लगाई झोला बोकी घरको आँगन नजिकको विद्यालय जान्छन् । कान्छो छोरो पवन विद्यालय गएपछि जेठो छोरो पविनलाई फलामै फलाम बाट बनाइएको खोरमा खाना राखिदिने गरेको आठ वर्ष पुरा भयो । एउटै गर्भ बाट जन्मिएको कान्छो छोरो विद्यालय अर्को छोरो फलामे खोरमा थुनेर राखिएको अवस्थामा खाना राखिदिँदा मुटु नै भक्कानिने गरेको आमा पूर्णमाया बताउँछिन् ।
गरिबले पिल्सिएको एक तलाको टिनको छाना भएको घरमा २०७१ सालको असोज ७ गते बाबु कृष्ण बहादुर कुमाल र आमा पूर्णमाया कुमालको कोखबाट जुम्ल्याहा छोरा जन्मिएका हुन् । शिक्षाको ज्योति छर्ने नवदुर्गा माविको खेल मैदानसँग जोडिएको घरमा जन्मिएका पविन जन्मँदै मानसिक तथा शारीरिक रूपमा अशक्त थिए । जन्मँदै अशक्त भएका कारणले एकै वर्षको उमेरमा बनेपा काभ्रेको अस्पतालमा खुट्टाको अप्रेसन त्यसपछि काठमाडौँको शिक्षण अस्पतालमा मुटुको अप्रेसन गर्दा पनि उनीको मानसिक तथा शारीरिक रूपमा सुधार नआएपछि उनलाई फलामे खोरमा थुनेर राख्नु परेको आफू विवश भएको बताउँछिन् ।
जन्मिँदा दुई छोरा एकै पटक भएकोमा परिवारमा खुसीको सीमा नै थिएन तर पहिला जन्मिएको यो छोरो जन्मिँदै रुन, खान नजान्ने खुट्टाले टेक्न नसक्ने थियो । झुममायाको जेठो छोरो वैदेशिक रोजगारीका लागि सात समुद्र पारी । छोरोको स्वास्थ्यमा सुधार आउला की भनेर काठमाडौँका अस्पताल सम्म लगियो । त्यति गर्दा छोराले कमाएको नौ लाख रुपैयाँ छोराको उपचारको क्रममा सकियो तर स्वास्थ्यमा सुधार नआएपछि उसैको सुरक्षाको लागि फलामे खोरमा थुन्नु बाहेक विकल्प नभएको हजुरआमा झुममाया कुमाल बताउँछिन् ।
गरिवी च्यापेका कारण घरै अगाडिको विद्यालयमा छोराहरूलाई पढाउन सकिन । सानो परिवार थियो । जेठो छोराको जुम्ल्याहा दुवै छोराहरू जन्मिदा एकै छिन आएको खुसीले सधैँका लागि दुःखी बनाएको हजुरआमा झुममाया बताउँछिन् ।
विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत झुममाया भन्दछिन् नातिको कारुणिक अवस्था देखेर घर बाट बाहिर निस्कदा र आउँदा आँखा बन्द गर्ने गरेको उनले बताइन् ।
दिसापिसावको ख्याल राख्न सक्दैनन् । घरको कमजोर आर्थिक अवस्थाले गर्दा मानसिक अस्पतालमा लैजाने उपाय नै नभएको हो । एउटा टिनको घर त्यो पनि सगोलको हो । श्रीमानको कमाइले टोल मै सात आना जमिन जोडेको हो । विदेशमा श्रीमानले गरेको दुःखले तीन जना पालिने हो । आर्थिक बोझ माथि अशक्त छोराको बोझ पनि थपियो । जसले गर्दा आफू कहिल्यै पनि खुसी नभएको आमा पुर्णमाया कुमाल बताउँछिन् ।
रामपुर नगर सरकारका प्रमुख रमण थापा भने यो बच्चाको उपचार कुनै अस्पतालले गरिदिए स्थानीय नगर सरकारले २/४ लाख रुपैयाँ खर्च गरिदिने बताउँछन् । छोराको थप उपचारको लागि थप खर्चका लागि आफू सँग चन्दा उठाउनु बाहेक कुनै विकल्प नै छैन । दाजु भाइ आफन्तको सहयोग पाउनु भनेको उनीहरूलाई नै बिहान साँझको छाक टार्न धौ–धौ छ । खोइको सँग गुनासो सुनाऊ । दैव पनि किन हाम्रो परिवारमा खनिएको होला भन्दै आफ्नो दुःख आफैसँग भएको पूर्णमाया कुमाल बताउँछिन् ।