© २०२३
असार ४ गते, बुधबार पहिलो दिनको तालिम समापन भएपछि साथी बेनु थापा र म उनकै मोटरसाइकिलमा हुँइकियौं पाल्पा फोक्सिङकोटको रानीबास होमस्टेतिर । हामी चिर्तुङ्गधाराबाट आर्यभञ्ज्याङ्ग, अँघाखोला, पीपलडाँडाहुँदै सहदीखोला पुगियो । त्यहाँ रानीबास होमस्टे सम्बन्धि जानकारीका लागि नक्सासहितको बोर्ड टाँगिएको रहेछ । आर्यभञ्ज्याङ्गबाट सहदीखोलासम्म पुग्न १३ किलोमीटरको दूरी नाप्नुपर्ने रहेछ । सहदीखोलाबाट उकालो, कच्चीबाटो करिव ८ किलोमिटरको दूरी पार गरेपछि फोक्सिङ्गकोटमा रहेको रानीबास गाउँ र त्यहाँ सञ्चालित होमस्टेमा पुगिने रहेछ ।
मोटरसाइकिलमा पुरै एक नम्बर गियर लगाएर ३७ मिनेटमा हामी सहदीखोलाबाट त्यहाँ पुगेका थियौं । गाउँ पुग्दा सिमसिम पानी पर्दैथियो । हामी सरासर गाउँमा रहेको जनजाति संग्रहालय पुग्यौं । हामीभन्दा पहिला नै रूपन्देही तिलोत्तमा नगरपालिकास्थित सगरमाथा टोल विकास संस्थाका साथीहरू पुगेर स्वागतग्रहण गरी वेलकम नास्ता खाँदै थिए । हामीले पनि माला पहिरिएर वेलकम नास्ताका रूपमा मकै, काँक्रा एवम् आलुको अचार र रातो चिया ग्रहण गरियो । मीठो रहेछ । जिभ्रैमा झुण्डिने ।
फोक्सिङ्गकोटको रानीबास गाउँमा ९२ घरपरिवार रहेछन् । यहाँ ९९ प्रतिशत् मगरजातिको बसोबास रहेको कुरा होमस्टे व्यवस्थापन समितिका सचिव बीरबहादुर गुरुङले बताए । उनका अनुसार गाउँमा मकै, कोदो, लहरेबाली उत्पादन हुने भएतापनि धान खेती भने नहुँदो रहेछ । रम्भा गाउँपालिका वडा नं.२ को फोक्सिङ्गकोटमा रहेको रानीबास गाउँमा करिव ३ सय ५० जना बसोबास गर्ने र आदिवासी जनजातिहरूकै बाहुल्यता रहेको वडासचिव धनकुमारी सारुले बताइन् ।
सो होमस्टेको उद्घाटन पाल्पा क्षेत्र नं. १ का संघीय माननीय नारायणप्रसाद आचार्य र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले संयुक्तरूपमा २०८१ फागुन २ गते गरेका रहेछन् ।
हामी असार ४ गते पुग्दा चार महिनामा पर्यटकको आगमन तथ्यांक हेर्दा पुग नपुग पाँचसयको संख्यामा रहेछ । यो क्रम जारीरहेमा रानीबास होमस्टे सञ्चालनले निरन्तरता पाउन सक्ने सहजै अनुमान गर्न सकिन्छ । यतिबेलासम्म बन्दीपुरका धेरै पर्यटकहरू गाउँमा आइपुगेका रहेछन् । काठमाडौं, नारायणघाट, पोखरा, तानसेन, रामपुर लगायतका स्थानबाट पर्यटकहरू गाउँमा आइपुगेतापनि बन्दीपुरका पर्यटक फर्किफर्कि आइपुगेको कुरा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देउकुमारी सारुले बताइन् ।
समुद्री सतहबाट एक हजार तीन सय सात मिटर उचाइँमा रहेको रानीबास होमस्टेले यतिबेला १८ घरमा घरबास (होमस्टे) सेवा दिइरहेका छन् । १४ घरबाट होमस्टे सुरु भएतापनि होमस्टे व्यवस्थापन समितिमा २३ घरहरू सहभागी छन् । यतिबेला करिव ५० जना पाहुनाहरू होमस्टेमा सजिलै बास बस्न सक्छन् । गाउँमा आउने पाहुनाहरूलाई होमस्टेकर्मीहरूले फूलको माला र पञ्चेबाजा बजाएर स्वागत गर्छन् । सम्मान गर्छन् ।
पाहुनाले होमस्टेमा स्वागत, खाजा, खाना र आवासको समेत गरेर एक हजार रूपैयाँ तिर्नुपर्ने रहेछ । यसमा मासुको पैसा समावेश गरिएको हुँदैन । मारुनी नाँच हेर्न इच्छा लागेमा दुई हजार रूपैयाँ थप शुल्क तिर्नुपर्ने कुरा सचिव गुरुङले बताए । गाउँमा होमस्टे सञ्चालनका लागि रम्भा गाउँपालिकाले तालिम, भ्रमण र कुकिङ्ग तालिम दिइसकेको रहेछ । त्यतिमात्र होइन, साउण्डबक्स, दराज र कुर्चीको समेत पालिकाले प्रवन्ध गरिदिएको रहेछ ।
रानीबास होमस्टेकर्मीले हामी पाहुनाहरूका लागि स्वागत गीत र नृत्यले सम्मान गरे । मारुनी नृत्य देखाए । सालैजो र झ्याउँरे गीतमा उनीहरू रमेको देख्दा खुसी लाग्यो । मगर संस्कृति र कलाले हाम्रो मन प्रफुल्ल भयो । दुःखजति गीत र नृत्यले भुलायो । थकाइजति सबै बिर्सियो । बेनु सरले उनीहरूको झ्याउरेमा साथ दिए । मैले टिकटकका लागि उनकै मोबाईलबाट भिडियो खिचिदिएँ ।
मीठो खाना खाइवरी, नाँचगान हेरेर, सुनेर हामी होमस्टे नम्बर ७ मा गएर सुत्यौं । सफा बिस्तारामा सुतेका थियौं । बुटवलको चर्को गर्मी छल्न पुगेका हामीलाई सिरक ओढेर सुत्दाको मज्जा बयान गरी साध्य छैन । अचार, चियासँगै कोदोको रोटीलाई बिहानै गाँस हालियो । नास्ता दरो खाइयो । बिहीबार प्रातकालीन भ्रमण गरियो । सानाहुँगी माविका प्रअ ऐवतकुमार सारुकै निवासमा पुगियो । तातोपानीले स्वागत गरे उनले । उनको स्कुल पुगियो । फोटो खिचियो । स्कुलमा १२ कक्षासम्म पढाइ हुँदो रहेछ । ओकेबाजे, ब्रिटिस वेयलफेयरले समेत विद्यालयको भवन बनाउन सहयोग गरेका रहेछन् । गाउँमा स्वाथ्य चौकी, प्रहरी चौकी आवश्यक भएपनि यतिबेलासम्म छैन । मन्दिर रहेछ । जनजाति संग्रहालय रहेछ । त्यहाँ करिव ३५ थरिका माटा, बाँसबाट बनेका मोखरा, पेरुङ्गा, हार्फे, चर्खा, पैनी, बङ्गरी, खोप्या, डेली, बिरम, हुक्काजस्ता पुराना सामग्री रहेछन् । जसले नयाँ पुस्तालाई सन्देश दिनेछन् । संघीय सरकार र स्थानीय रम्भा गाउँपालिकाको करिव एक करोड ३० लाखको आर्थिक सहयोगमा निर्माण भएको रहेछ ।
गाउँ घुम्दा रमाइलो लाग्यो । तुँवालोले वारिपारि नदेखिएपछि गाउँको छेउछाउ देख्न पाइयो । बाटाभरि फूलहरूले हामीलाई नै स्वागत गरेजस्तै लाग्यो । कलात्मक, पुराना शैलीका घरहरू देखिन्थे । पानीको खासै अभाव रहेनछ । बारीका पाटाभरि मकै देखिन्थे । गाउँलेहरूको मुख्यबाली नै मकै रहेछ । बाटा कच्ची र साँघुरा भएपनि मन सफा र फराकिला रहेछन् । यो कुराले मनै खुसी भयो । दिनमा एउटा जीप तानसेनका लागि छुट्दो रहेछ । गाउँमा शिक्षित र साक्षर धेरै रहेछन् । युवा पुस्ताहरू बैदेशिक रोजगारमा रहेछन् ।
होमस्टेका लागि जग्गा उपलब्ध भएपनि भवन बन्न नसक्दा बर्खामास् होमस्टे सञ्चालनमा कठिनाइ भएको हामीले महसुुस गर्यौ । पानी परिरहेको कारण घरि संग्रहालयभित्र, घरि संग्रहालय बाहिर कलाकारहरू देखिन्थे र साउण्ड सिस्टम उचालेर हिडाल्नु परिरहेको थियो । सांस्कृतिक कार्यक्रम सञ्चालनमा समस्या देखापरिरहेको थियो । त्यही कारणले समेत पाहुना र होमस्टे सञ्चालकहरू झण्झटमा देखिन्थे । सरकारबाट होमस्टेकर्मीहरूले छिट्टै नै साझा घर निर्माणको आशा गरेका छन् । भ्यू पोइन्ट बनाउने संकल्प गरेका छन् । बालबगैँचा बनाउने सपना उनेका छन् ।
पर्यटकहरूलाई घुमाउने र भुलाउने अनेक ठाउँ खोजेका छन् । गाउँको परिचय दिने खालको पुस्तक लेख्नका लागि मैले सानाहुँगी माविका हेडसरलाई अनुरोध गरेको छु । उनलाई सम्पादनमा सहयोग गर्ने वचन दिएको छु । हेरौं ! उनको जाँगरले कहिले सार्थकता पाउने हो ?सहदीखोलाबाट रानीबास पुग्ने साँघुरो र कच्चीबाटोको स्तरोन्नति भएमा यो होमस्टेले छिट्टै नै फड्को मार्ने कुरा जिल्ला समन्वय समितिका सदस्य भोविसरा सारुले बताइन् । गाउँमा होमस्टे खुलेपछि बुहारीहरू सहर जान छाडेको कुरा बताइन् । ५८ वर्षीय सारुले गाउँको विकासका लागि होमस्टे खोलेको हाँसेर सुनाइन् । पाहुना आउँदा रमाइलोमात्र होइन, नयाँ नयाँ कुरा सिक्न र जान्न पाएको बताइन् ।
कोसेली घर बनाउन पाए जाती हुने उनले सुनाइन् । हेरौं, उनकै क्षेत्रका माननीय, लुम्बिनी प्रदेका मन्त्री छन् । अर्का टाठा संघीय सांसद छन् । फेरि भेटौंला कार्यक्रममा मैले पनि बोल्ने अवसर पाएँ । होमस्टेको प्रगति र उन्नतिको कामना गरें । निरन्तरताका लागि शुभकामना दिएँ । अवीर र फूलको थुंगा हातमा लिएर बिदा भइयो । चीनजानका निरमति दिदीले आफ्नो घरबाट बेनुलाई बोडी, काँक्रा र कोदोको तेल उपहार दिइन् । फोटो खिचाइन् ।
त्यसपछि होमस्टे नं.७ बाट बिदा भएर ओरालो १ नम्बर गियरमै सहदी खोला ३५ मिनेटमा झ¥यौं । आर्यभञ्ज्याङ्गमा आएर सिल्वाली होटलमा सादा दालभात डम्स्यायौं । बेनुले नगद पाँच सय भुक्तानी गरे । हल्का महँगो महसुस् गरियो । तालिम हल आइपुग्यौं, चिर्तुङ्गधारामा । त्यतिबेला ११ बजिसकेको थियो । तालिम सकेर बुटवल आउँदा साँझको सवा सात बजिसकेको थियो । पानी विपत्तै पर्यो । पानीमा रुझ्दै बेनु नयाँगाउँतिर लागे । बर्खामास् रानीबासको सम्झनामा म भने लेख्ने तयारीमा जुटें ।