Butwal Today

शल्यक्रियाले फर्कायो आमाको जीवनमा उज्यालो

६ असार २०८२, शुक्रबार
अ+
अ-

चन्द्रौटा(कपिलवस्तु), ६ असार ।

साँझ पर्न लागेको थियो । बाणगंगा नगरपालिका–६ की ३३ वर्षीया ममता गन्धर्व (नाम परिवर्तन) हातमा केही नऔँल्याइ पिपरा अस्पताल पुगिन् । पेटको भारी बोकी आएकी थिइन्, तर त्यो केवल शारीरिक मात्र थिएन । त्यो डर, चिन्ता र आशंकाको भारी पनि थियो । चौथो सन्तान जन्माउन लागेकी ममताले यसपटक गर्भकालभरी एकपटक पनि पूर्व प्रसुती जाँच गरेकी थिइनन् ।

पेट दुख्ने व्यथा थियो । तर त्यो भन्दा पनि स्वास्थ्य व्यवस्थापनको कमीले अवस्था गम्भीर थियो । उनी अस्पताल आएकी थिइन् । न औषधिको जोहो थियो, न शल्यक्रियाको तयारी । अस्पताल पुगेपछि डाक्टरहरू स्तब्ध भए—उनी गर्भवती थिइन् । पेटमा रहेको शिशुको तौल पाँच किलो पुगेको थियो ।

मेडिकल सुपरिटेन्डेन्ट डा. सरस्वती भट्टराईले भनिन्, “सामान्यतया शिशुको तौल दुईदेखि साढे तीन किलोसम्म हुन्छ” उनले थपिन्, “तर पाँच किलोको शिशु अपरेसन गर्नु ठूलो चुनौती हो ।” महिला तथा प्रसूति रोग विशेषज्ञ डा. जागृति खनालका अनुसार, चार किलोभन्दा बढी तौल भएको शिशु निकाल्दा अत्यधिक रक्तस्राव हुने सम्भावना उच्च हुन्छ । यस्तो अवस्थामा आमा र शिशु दुवैको ज्यान खतरामा पर्न सक्छ । तर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू पछि हटेनन् । अप्रेसन सुरु गरियो—शरीरको भन्दा ठूलो प्रश्न उनीहरूको अगाडि थियो ः के दुवैलाई बचाउन सकिन्छ ?

शल्यक्रिया सफल भयो । पाँच किलोको शिशु सुरक्षित जन्मियो । आमाको स्वास्थ्यमा सुधार आयो । अस्पतालको सम्पूर्ण टोलीले राहतको सास फे¥यो । “यो केवल चिकित्सा होइन, मानवीयताको जित थियो,” एक नर्सले मुस्कुराउँदै भनिन्–“ममतासँग कुनै आर्थिक साधन थिएन । अस्पतालका कर्मचारीहरु व्यक्तिगतरुपमा सहयोग ग¥यो । शल्यक्रिया, औषधोपचार, रगत व्यवस्थापनदेखि पौष्टिक आहारसम्मका सबै सेवा अस्पतालले निःशुल्क उपलब्ध गराएको थियो ।” पिपरा अस्पतालले २०८१ सालको भदौदेखि शल्यक्रिया सेवा सुरु गरेको हो ।