© २०२३
काठमाडौँ ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको निरन्तर विरोधका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसदहरूले प्रश्न सोध्ने कार्यसूची तय गरिएको थियो। तर, रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै संसद् अवरुद्ध गरिरहेकाले सो कार्यक्रम अगाडि बढ्न सकेन।
सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको क्रममा विरोध कायमै रहेपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम आजका लागि स्थगित भएको घोषणा गरे। रास्वपा जेठ १३ गतेदेखि संसद् रोकेर भिजिट भिसाको दुरुपयोगका विषयमा छानबिन गर्न माग गर्दै आएको छ। यस प्रकरणमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने भन्दै उसले निरन्तर दबाब दिँदै आएको छ।