Butwal Today

त्रास र अनिद्रामा रात गुजार्दै प्रकोप प्रभावित

६ असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, ६ असार ।

ललितपुर महालक्ष्मी नगरपालिका ६ बस्ने ४५ वर्षीया सीमा खड्का आकाश गर्जिनासाथ त्रसित हुन्छिन् । गतवर्षको असोजमा राति एक बजे आएको पहिरोले यो वर्ष पनि उस्ती नियती दोहोरिने त्रासमा छिन् । चुरे क्षेत्रको फेंदीमै रहेको सीमा घर नजिकै गतवर्षको वर्षायाममा पहिरो खसेको थियो । घरभन्दा केही तलैबाट बग्ने खोलाले वर्षा लागेपछि ठुलै रूप लिन्छ । त्यही बसोबास गर्दै आएकी ४५ वर्षीया सीमाका आँखामा अहिले पनि गत बर्ष असोजको त्यो रातको त्रास जीवित छ । “गएको असोजमा रातभरि पानी प¥यो । त्यो रात त पानीले होस् नै उडायो । राति १ बजे घरको भित्ताबाट पानी चुहिन थाल्यो । अनि एक्कासी तलबाट पहिरो आयो घर नजिकै । घरको छेउँको डिल बगेर गयो”–उनले भनिन् ।

त्यो त्रासदीपूर्ण रात सम्झदै उनले त्यो रात बच्चाहरूलाई उठाएर खुला ठाउँमा पु¥याइन् । “न भोक, न निद्रा । डरै डर थियो । जिन्दगी सकिने हो कि भनेर । अनि अब, फेरि वर्षा सुरु भयो । उही डर कायम छ”–उनले भनिन् ।

सीमाको मात्रै होइन, महालक्ष्मी, गोदावरी, बज्रबाराही आसपासका बासिन्दा अहिले पनि मनसुन सुरु भयो कि खुला आकाश हेरेर त्रासका सास फेर्छन् ।

त्यस्तै पिडा छ ललितपुर बज्रबाराहीका यम महर्जनको पनि छ । उक्त क्षेत्रमा बग्ने खम्बु खोलाले बारम्बार डुबानमा पार्ने गरेको छ । यद्यपि, संरचनात्मक दीर्घकालीन योजना अझै बनेको छैन । पानी पर्न थालेपछि रातभरि यसै बिताउने हो । कतिबेला बगाउँछ कि डुबाउँछ भन्ने लाग्छ ।

“हरेक वर्ष रातभर निन्द्रा हराउँछ । कहिले खोलो बढ्छ र डुबाउँछ भन्ने थाहा हुँदैन”–उनले भने । गत बर्ष असोजमा आएको पानीले उनको घर डुबानमा परेको थियो । त्यो त्रासदीपूर्ण दिन सम्झिदा अहिले पनि कहाली लाग्छ उनलाई । “अघिल्लो दिन दिउँसैदेखि सिमसिम पानी परिरहेको थियो । परिवारसँगै खाना खाएर भुईतलामा सुतेका उनी बिस्तारामा चिसो लागेपछि मात्र बिउँझिए । त्यति बेलासम्म पानी घुँडा घुँडा पुगिसकेको थियो । सशस्त्र प्रहरीले बिहानमात्र उद्धार गर्यो”– उनले भने– “अहिले पनि पानी पर्न थाल्यो भने त्यही कहालीलाग्दो रात सम्झिन्छु । खोला हेरेर रात बित्छ ।”

देशभर वर्षा सुरु भएसँगै बाढी, पहिरो र डुबानको त्रास बढ्दै गएको छ । विशेषगरी पहाडी तथा तराई क्षेत्रका बासिन्दा हरेक वर्षको वर्षायामलाई त्रासको मौसमका रूपमा लिने गर्छन् । बिगतमा बाढी, पहिरो, डुबान भोगेका ललितपुरका स्थानीयहरू अहिले पनि वर्षायाम सुरु हुनासाथ त्रासमा बाँच्न बाध्य छन् । आकाशमा कालो बादलसँगै मनमा पनि भयको बादल मडारिन थाल्ने बताउँछन् ।

मौसम विज्ञान विभागले यसवर्ष ३० वर्ष यताकै धेरै पानी पर्ने भनेको छ । र,पुर्व तयारीसँगै सजग पनि गराएको छ । सरकारले मनसुनजन्य जोखिम व्यवस्थापनका लागि व्यापक तयारी गरेको दाबी गरे पनि राहत र उद्धार पूर्वाधार, बजेट र उपकरणको सन्दर्भमा अझै पनि ठूलो चुनौती कायमै छ ।

गृह मन्त्रालयका अनुसार यो वर्ष बाढी, पहिरो लगायतका विपत्का सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीका १० हजार ८५ जना, सशस्त्र प्रहरी बल (एपीएफ) का ७ हजार ६ सय १५ जना तथा नेपाली सेनासमेत गरी १७ हजारभन्दा बढी सुरक्षा तथा उद्धारकर्मी बाढी, पहिरो, डुबान जस्ता विपत्मा खटिनका लागि तयारी अवस्थामा राखिएको छ । यसपटक मनसुनसँगै नेपालका पहाड र तराई दुबै क्षेत्रमा सतर्कता अत्यावश्यक देखिएको छ । सरकारी संयन्त्रको तत्परता यथार्थमा कति प्रभावकारी हुन्छ । त्यसको परीक्षण अब वर्षा आफैंले गर्नेछ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामचन्द्र तिवारी भन्छन्–“सरकारले यस वर्षको मनसुनमा हुनसक्ने जोखिम र क्षतिको विश्लेषणका आधारमा प्रत्येक स्थानीय तहमा आपतकालीन राहत सामग्रीका लागि गोदाम बनाउने निर्णय गरेको छ । राहत तत्काल पुग्न नसक्ने समस्यालाई समाधान गर्न अहिले नै भण्डारण, सञ्जाल र समन्वयको तयारी अघि बढाइएको छ ।” उनका अनुसार जिल्लास्तरमा प्रहरीसहितका उद्धार टोलीलाई तालिम दिइएको, स्रोत साधन उपलब्ध गराइएको र स्थानीय तहको विपत् व्यवस्थापन समिति सशक्त पारिएको छ । जुन विगतका घटनाबाट सिकेर बनाइएको हो ।

“स्थानीय प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रससम्मका निकायबिच समन्वयात्मक अभ्यास थालिएको छ,” प्रवक्ता तिवारीले थपे । गृह मन्त्रालयको तर्फबाट एकीकृत विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयन गर्दैछौं ।

त्यस्तै, मन्त्रालयले प्रत्येक नगरपालिका÷गाउँपालिकामा गोदाम निर्माण कार्य सुरु, घटनास्थल नजिकै उद्धार टोली खटाउने प्रोटोकल, स्थान–विशेषका जोखिम पहिचान गरेर पूर्वसूचना प्रणालीमा सुधार, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग विशेष तालमेल र भण्डार केन्द्रमा सहकार्य जस्ता कार्य पनि गरेको छ ।

सशस्त्र प्रहरीले विपत् उद्धारका लागि देशभर ३५ वटा मनसुन उद्धार १ सय २८ डाईभर, १ सय २० मोटरबोट र विशेष रेस्क्यु टोलीहरु प्रिचालनमा रहेको गृह मन्त्रालयले जनाएको छ । जसअनुसार प्रत्येक प्रदेशमा कम्तीमा एउटा विशेष उद्धार टोली तयारी अवस्थामा छ । देशभर खटिएका टोलीहरूलाई मोटरबोट, राफ्टबोट, हाइड्रोलिक ज्याकेटलगायतका आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको छ । यो वर्ष १ सय २८ जना गोताखोर पनि तयारीमा छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सुचना अधिकारीराम बहादुर केसीले मनसुन सुरु हुनु अगावै प्रतिक्रियाशील संरचना तयार पारिएको बताए । उनले भने, “पछिल्लो वर्षको अनुभवले उपकरण र जनशक्ति अभाव हुँदा धेरै घटनामा ढिलाइ भयो । त्यसैले, अहिले पूर्वसूचना प्रणाली, स्थानीय सञ्जाल र ‘मासिक समीक्षा प्रणाली’ लागू गरिएको छ । पछिल्लो वर्षको अनुभवले देखायो—“उपकरण र जनशक्ति अभाव हुँदा धेरै घटनामा ढिलाइ भयो”–उनले भने ।
नेपाल प्रहरीका र सशस्त्र प्रहरी बलका गरी सुरक्षाकर्मी उद्धारमा तयारी अवस्थामा राखिएका छन् । सेना रेडक्रस, स्थानीय तहसहितको समन्वित कार्ययोजना अगाडि सारिएको पनि उनले जानकारी दिए । सुचना अधिकारी केसीले भने, “विपत् टार्न पूर्वतयारी र चेतावनी प्रणाली अझ सशक्त पारिँदैछ ।”

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपत्को तयारीमा सशस्त्र लागेको दाबी गरे । उनले विपत् व्यवस्थापनमा चाँडो प्रतिक्रिया नै जीवनरक्षा र क्षति न्यूनीकरणको आधार हुने बताए ।

महानिरीक्षक अर्यालले, “अब कुनै इकाईले ‘सामग्री छैन’ भनेर जिम्मेवारीबाट पन्छिने छुट छैन । समयमै उद्धार टोली पुग्ने गरी तयारी छ । हामीले विपद् स्थलसम्म छिटो पुग्न सक्यौं भने ठूलो क्षति टार्न सकिन्छ ।”

अर्यालले सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालिम प्रतिष्ठान र पहाड उद्धार केन्द्र सक्रिय अवस्थामा रहेको बताउँदै भने, “सामुदायिक स्वयंसेवी, प्रारम्भिक चेतावनी प्रणाली, स्थानीय सञ्जाल, सूचना प्रवाह—सबै पक्षलाई समेटेर हामी अघि बढ्दैछौं ।” स्थानीय तहसँग समेत समन्वय गरिएका छन्।”तत्कालै उद्धार पुग्न सक्ने तयारी रहेको उनको दाबी छ ।

विपत्का घटनामा वृद्धि

सरकारले सुरक्षा बलको तयारी, कमान्ड पोस्ट र उद्धार टोली परिचालन जस्ता कार्यहरूमा व्यापक सक्रियता देखाए पनि उपकरणको कमी, बजेटको असमानता र स्थानीय तहसँगको समन्वय अभावका कारण वर्सेनि आउने विपत् अझै पनि पूर्ववत् संकटका रूपमा रहने देखिन्छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०८०÷८१ मा मनसुनजन्य घटनामा ज्यान गुमाउनेको संख्या अघिल्ला बर्षहरुको तुलनामा उल्लेखनीय रुपमा बढेको छ ।

प्राधिकरण र गृह मन्त्रालयको तथ्यांक अनुसार २०८०÷८१ सालको मनसुनमा मात्रै ८ सयले ज्यान गुमाएका थिए । जुन अघिल्ला दुई वर्षको तुलनामा बढी हो । त्यस्तै , २१ हजार परिवार बिस्थापित भएका थिए भने बेपत्ता हुनेको संख्या ६६ थियो । २०७८÷७९ मा ७ सय ४५ जनाले ज्यान गुमाएका थिए । ३७ जना बेपत्ता र १९ हजार बढी परिवार बिस्थापित भएका थिए ।

२०७७÷७८ मा ३ सय ४३ जना बाढी र पहिरोमा परी ज्यान गुमाएका थिए । ९ हजार बढी परिवार बिस्थापित भएका थिए । यस बर्ष ४० जना मनसुनजन्य विपत्मा परी बेपत्ता भएका थिए ।

सरकारले हरेक वर्ष वर्र्षायाम सुरु हुनु अगावै मनसुनजन्य विपत् व्यवस्थापनको तयारी पूरा भएको दाबी गर्दै आइरहे पनि पछिल्ला तीन वर्षको डाटाले त्यो दाबीमाथि प्रश्न उठाएको छ । विशेषगरी बाढी, पहिरो र चट्याङ्जस्ता विपत्का कारण मृत्यु र विस्थापन झन् बढिरहेको देखिन्छ । प्रभावितको संख्याले संकेत गर्छ । समस्या अझै गहिरो छ । १० जिल्लाहरू जस्तै कास्की, सिन्धुपाल्चोक, बझाङ, डोटी, सप्तरी, बारा, मकवानपुर, झापा, मोरङ, रुपन्देहीको बुटवल आसपास उच्च जोखिममा रहेका राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।