डोटी ।
डोटी जिल्लाको आदर्श गाउँपालिका–१, सिरास्यानीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार दिउँसो सुपप्र ०१–००१ च १३९५ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिप आदर्शबाट मेल्लेख जाँदै गर्दा भित्री सडकमा अनियन्त्रित भई सडकबाट करीब २५० मिटर तल खसेको प्रहरी निरीक्षक रामचन्द्र जोशीले जानकारी दिए। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ।
दुर्घटनामा परेर घाइते भएका चार जनालाई स्थानीय मेल्लेख स्वास्थ्य चौकीमा उपचारका लागि पुर्याइएको छ। यद्यपि जिपमा कति जना यात्रु सवार थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीको उद्धार टोली घटनास्थलमा खटिएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको नेतृत्वमा टोली परिचालन गरिएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।



