© २०२३
बुटवल नारायणगढ सडक खण्डमा भइरहेको दैनिक जामका कारण हजारौँ यात्रुहरूले ठुलो सास्ती पाउँदै आएका छन् । पछिल्लो समय यो सडक लगातार जाममा पर्दै आएको छ । जसका कारण यात्रुहरू घण्टौँ सडकमै बास बस्नुपर्ने अवस्थामा छन् । वर्षाको समयमा पानी पर्दा घुँडासम्म आउने हिलोका कारण सवारीका साधन त्यही हिलोमा फसेका छन् । खास गरी दाउन्ने क्षेत्र वरिपरिको सडक पूरै जोखिममा छ ।
यही खण्डमा २२ घण्टासम्म जाममा बस्न बाध्य भएको यात्रुहरूको पीडा छ । यात्रुहरूले ठुलो सास्ती पाएपछि प्रहरीले नारायण घाट–बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न सबैसित अनुरोध गरेको छ । लगातारको वर्षापछि दैनिक आउने बाढीले विनयी खोलाको डाइभर्सनमा क्षति पु¥याएको छ । यता दुम्किवास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखोला लगायत स्थानका सडक चिप्लो भई अघि बढ्न नसक्ने तथा चिप्लेर फसी आवागमनमा अवरोध भैरहेकोले यो सडक भएर सकेसम्म यात्रा नगर्न प्रहरी प्रशासनको अनुरोध छ ।
प्रहरीले बिहीबार बिहान विज्ञप्ति नै जारी गरेर सकेसम्म यो सडक भएर यात्रा नगर्न र वैकल्पिक मार्गको प्रयोग गर्न सबैसित अनुरोध गरेको छ । बाढीले मंगलबारदेखि दुम्किवासस्थित विनयी खोलाको डाईभर्सन बगाएपछि दिनहुँजसो अवरोध भइरहेको छ । यो डाइभर्सन सात पटकसम्म खोलाले बगाउँदा आवागमन निक्कै कठिन भएको छ । त्यस्तै बुधबार दिउँसोदेखि दाउन्नेमा चिप्लो बाटोमा गाडी फस्दा निक्कै लामो जाम लागेको छ भने यात्रा कष्टकर भइरहेको छ । सयौं यात्रुले सास्ती पाएका छन् । अवको बर्षासम्म यो सडकको यही नियति दोहोरिरहनेछ । निर्माण व्यवसायीको लापरबाहीका कारण हजारौँ यात्रुले सास्ती पाउनु परेको छ ।
वि. सं २०७५ माघमा बुटवल नारायणगढ सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म करिव ७० प्रतिशतमात्रै छ । ११३ किलोमिटर सडक बनाउन ७ बर्ष लाग्दा पनि सम्पन्न नहुनुका पछि नेपाल सरकारको पनि ठुलो कमजोरी छ । यसमा निर्माण कम्पनीको गंभीर लापरवाही छँदैछ, त्यसमाथि सरकार समेत अहिलेसम्म रमिते बनेकै हो । निर्माण कम्पनीले अझै यो सडक पूरा हुन कम्तिमा एक बर्ष समय लाग्ने जनाएको छ । अव बर्षा लागिसकेकोले यो सडकमा यात्रा गर्नु जोखिम निम्त्याउनु हो । तसर्थ यो सडक भएर यात्रा नगर्नु नै राम्रो हो । समयमै सडक नबनाउने निर्माण कम्पनीको म्याद पटक पटक थप्ने र कम्पनीलाई कारवाहीको साटो उल्टो म्याद थपेर पुरस्कृत गर्ने काम भएकै कारण समस्या झनै बल्झिदै गएको छ ।
यद्यपि पछिल्लो समय निर्माणको काम एकतर्फी भए पनि धेरै हदसम्म सकिएको छ । नेपालको पूर्वी क्षेत्र र सुदूरपश्चिमलाई जोड्ने यो सडक नेपालकै महत्त्वपूर्ण खण्ड हो । यो सडक निर्माण सुरु गर्दै निर्धारित मितिमा सम्पन्न नगरे ठेक्का तोड्ने चेतावनी दिएको भए अहिले यो अवस्था उत्पन्न हुने थिएन तर सरकारकै बेवास्ताका कारण यो सडक निर्माणमा ढिलाइ भएको हो । निर्माण पक्षको लापरबाहीका कारण अहिले सडक विस्तारको क्रममा यात्रुले सास्ती पाएका छन् । घण्टौँ जाममा बस्नुपर्ने बाध्यता खेप्दै आएका यात्रुहरू सडकमै भोकै भोकै बस्नुपर्दा दिक्क भैसकेका छन् ।
कुनै पनि विकास निर्माणको काम समयमा नै सम्पन्न नहुने ठुलो समस्या हो । त्यसमा यो सडकले मुलुकको विकास निर्माणलाई नै गिज्याइरहेको छ । सडक निर्माणको क्रममा सरकारी अनुगमन सुस्त छ । अहिले वर्षाको समय भएकोले सडकको अवस्थाका विषयमा यात्रुलाई समयमै सूचना दिनु जरुरी छ । वर्षाको यो समयमा सावधानी अपनाउनुको अर्को विकल्प छैन । खासगरि जाममा परेका यात्रुलाई अर्को कुनै वैकल्पिक माध्यम प्रयोग गरी गन्तव्यमा पु¥याउनेतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जाओस् ।