© 2026
सल्यान, ६ असार ।
सल्यानको शारदा नगरपालिकाले हालसम्मकै ठुलो बजेट ल्याएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब १९ करोड २९ लाख १२ हजार रुपियाँको बजेट पारित गरेको हो । शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले नगरपालिका स्थापना भएदेखि हालसम्मकै ठुलो आकारको बजेट यस पटक ल्याइएको बताए । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ८२ करोड ७१ लाख ९७ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।
बुधबार र बिहीबार गरेर दुई दिन सम्म सञ्चालन भएको नगर सभाको १७ औँ अधिवेशनले सर्वसम्मत रूपमा बजेट पारित गरेको प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिए । कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम प्रवर्धन लगायत विविध क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको हो ।
नगर उपप्रमुख सुस्मिता सापकोटाले सार्वजनिक गरेको बजेटमा सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान ११ करोड ६६ लाख, राजस्व बाँडफाँट ११ करोड १५ लाख ५२ हजार, सर्त अनुदान ६७ करोड ३६ लाख ४४ हजार, समपूरक अनुदान ८७ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ५४ लाख ४६ हजार, सर्त अनुदान नौ करोड ८४ लाख २६ हजार, समपूरक अनुदान एक करोड, सामाजिक सुरक्षा भत्ता १३ करोड ५० लाख र आन्तरिक आय दुई करोड रुपियाँ स्रोतको रूपमा उल्लेख गरिएको छ ।
विनियोजनको तर्फ पूर्वाधार विकासमा सबैभन्दा बढी ५३ करोड ९६ लाख ७३ हजार रुपैयाँ छुट्याइएको छ । त्यसपछि सामाजिक विकासतर्फ ४५ करोड ४४ लाख ५८ हजार, आर्थिक विकासमा चार करोड ५० लाख एक हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६५ लाख र संस्थागत विकास तथा सुशासनतर्फ १४ करोड ४२ लाख ८० हजार विनियोजन गरिएको छ ।
शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा २५ करोड ८५ लाख, स्वास्थ्य तथा पोषणमा पाँच करोड ८९ लाख ३८ हजार, कृषि विकासमा ५८ लाख २० हजार, पशुपालन सेवामा ३७ लाख ५० हजार, महिला, बालबालिका तथा समाज कल्याणतर्फ २० लाख, खानेपानी तथा सरसफाइतर्फ ४६ करोड २४ लाख ७३ हजार, वन तथा वातावरणमा ३५ लाख, सहकारी तथा सङ्घसंस्थामा १० लाख र विपद् व्यवस्थापनमा ३० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसै गरी सूचना प्रविधिमा ४० लाख, अध्ययन तथा अनुसन्धानमा १० लाख, स्वास्थ्य उपचार कोषमा १५ लाख, मर्मत सम्भार कोषमा १० लाख, उपप्रमुख पोषण कोसेली कार्यक्रममा पाँच लाख, कार्यालय सञ्चालनमा पाँच करोड, कर्मचारी पारिश्रमिक तथा सुविधामा सात करोड ४४ लाख, पदाधिकारी सेवा सुविधा एक करोड ३० लाख, नगर प्रहरी एक करोड पाँच लाख, वडागत पुँजीगत तीन करोड, वडागत चालु खर्च ६९ लाख र रोजगार परियोजनामा दुई करोड ४४ लाख ३१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसै गरी सवारी साधन खरिदमा ५० लाख, भुक्तानी बाँकी परियोजनामा २० लाख र कर्मागत योजनामा ८७ लाख रुपियाँ विनियोजन गरिएको छ ।
समावेशिता र सामाजिक न्यायको आधारमा बजेट तयार पारिएको भन्दै नगरपालिकाले बजेटले विकासलाई गति दिने जनाएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा सामाजिक सुरक्षामा सकारात्मक परिवर्तन ल्याउने शारदा नगरपालिकाको अपेक्षा रहेको छ ।