© २०२३
काठमाडौं ।
पर्सा जिल्लाको पोखरिया नगरपालिकामा विभिन्न योजनाको स्वीकृति, कर्मचारी नियुक्ति लगायतका कार्यहरूमा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनालाई नियन्त्रणमा लिएको छ।
अख्तियारका अनुसार पक्राउ पर्नेमा पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साह रहेका छन्। उनीहरू हाल पर्साकै बहुदरमाई नगरपालिकामा कार्यरत थिए। श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिका–१२ स्थित प्रतिमा चोकबाट र साहलाई महानगरपालिका–३ प्रगतिनगरबाट नियन्त्रणमा लिइएको हो।
अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार उनीहरूसँगै चार थान मोबाइलसमेत बरामद गरिएको छ।
त्यसैगरी पोखरिया नगरपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र वडा नम्बर २ का सचिव ओम प्रकाश चौरसियालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। उनीहरूबाट दुई थान मोबाइल समेत बरामद गरिएको छ।
अख्तियारले थप अनुसन्धान जारी रहेको जनाएको छ। प्रारम्भिक जानकारीअनुसार योजनाको कार्यान्वयन र कर्मचारी नियुक्तिमा आर्थिक लेनदेन तथा प्रक्रियागत अनियमितता भएको आशंका गरिएको छ।