© २०२३
काठमाडौँ, ०६ असार ।
मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो । इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा चन्द्रभाल झाले सिमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो पनि घटेको गएको बताए । उनका अनुसार नेपाल–भारत सीमाको सिमाना पर्ने कञ्चनपुरमा केही भारतबाट आउनेमा सङ्क्रमण देखिएका छन् । उनका अनुसार अहिलेसम्म (पुस १७ गते यता) १६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो सात दिनमा ३० जना र २४ घण्टामा पाँच जनामा सङ्क्रमण देखिएको उनले बताए ।
सबैभन्दा बढी बागमती प्रदेशमा १२९, सुदूरपश्चिम प्रदेशमा १७, मधेस प्रदेशमा पाँच, कोसी तथा गण्डकी र लुम्बिनी प्रदेशमा समान तीन–तीन जनामा सङ्क्रमण देखिएको छ । निर्देशक डा झाले कोरोना भाइरसको सङ्क्रमण देखिएका ठाउँमा एन्टिजेन पाइसकेको समेत जानकारी दिए। उनका अनुसार सीमा नाकामा परीक्षणका लागि अहिलेसम्म ६४० थान एन्टिजेन पाइसकेको छ । उनले सङ्क्रमणको जोखिमलाई ध्यान दिँदै थप एन्टिजेन खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाले फाट्टफुट बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको बताउँछन् ।
“मौसममा आएको परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरोका बिरामी आउने गरेका छन्”, उनले भने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा सङ्क्रमण देखिएका कारणले नेपालमा पनि देखिएको बताए । “भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट बिरामी देखिएका हुन्”, उनले भने, “मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।” मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दिर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिम रहेको बताए ।