© २०२३
सुर्खेत, ५ असार ।
सुर्खेतस्थित कोपिला भ्याली स्कूल विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार २०२५ अन्तर्गत छनौट भएको छ ।
उक्त विद्यालय वातावरणीय कार्य श्रेणीमा शीर्ष १० मा स्थान बनाउँदै नेपालको शिक्षा क्षेत्रको गौरव बढाएको छ । विश्वव्यापी रूपमा शिक्षा क्षेत्रमा दिगो, नव प्रवर्तनशील र समाजमा सकारात्मक प्रभाव पार्ने विद्यालयहरूलाई सम्मान गर्न सन् २०२२ देखि सुरु गरिएको यस पुरस्कारमा नेपालबाट पहिलो पटक यो विद्यालय छनोट भएको हो ।
सन् २०२५ अक्टोबरमा विजेता विद्यालयहरूको घोषणा गरिनेछ । यसका साथै, शीर्ष ५० मा छनोट भएका सबै विद्यालयहरूलाई नोभेम्बर १५–१६ मा अबुधाबी, यूएईमा आयोजना हुने ग्लोबल नीति संवाद कार्यक्रममा आमन्त्रण गरिनेछ । त्यहाँ विद्यालयका प्रतिनिधिहरूले विश्वभरका नीति निर्माताहरू तथा शिक्षा विद्हरूसँग आफ्ना अनुभव र कार्यदिशा साझा गर्ने अवसर प्राप्त गर्नेछन् । नेपालको तर्फबाट यस्तो उपलब्धि हासिल गर्नु केवल कोपिला भ्याली स्कूलको मात्र नभई, समग्र नेपाली शिक्षा क्षेत्रको लागि गर्वको विषय हो ।
कोपिला भ्याली स्कूल एक स्वतन्त्र, गैर नाफामूलक संस्था हो, जसले कर्णाली प्रदेशको वीरेन्द्रनगरमा विपन्न पृष्ठभूमिका चार सय ५० भन्दा बढी बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाका साथै वातावरणीय सचेतना र दिगोपनासँग सम्बन्धित शिक्षा प्रदान गर्दै आएको छ । ‘ग्रीन स्कूल’ अवधारणामार्फत वातावरण संरक्षणलाई शिक्षाको अभिन्न अङ्ग बनाउने यस विद्यालयको प्रयासलाई विश्व समुदायले उच्च मूल्याङ्कन गरेको छ ।
यस्तो प्रकारको प्रतियोगितामा नेपालबाट कुनै विद्यालयअन्तिम सूचीमा परेको पहिलो पटक रहेकाले समग्र नेपाली शिक्षा क्षेत्रको प्रतिष्ठा बढाएको कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लले बताए । पाँच विधामा प्रदान गरिने पुरस्कार समुदाय सहकार्य, वातावरणीय कार्य, नवप्रवर्तन, चुनौतीपार गर्ने क्षमता र स्वस्थ जीवनशैलीमा एक विश्व निर्णायक मण्डलले विजेता छनोट गर्ने मल्लले बताए ।
भोटका लागि बुधबारबाट मतदान सुरु भइसकेको छ । सबै विजेताहरूको घोषणा २०२५ अक्टोबरमा गरिनेछ । चार सय ५० भन्दा बढी विपन्न बालबालिकाहरूलाई शैक्षिक र वातावरणीय शिक्षाप्रदानगर्दै आएको उनले बताए । मल्लले वातावरणीय दिगोपनालाई शिक्षाको अभिन्न अङ्ग बनाउँदै अध्ययन गराइरहेको बताए ।