© २०२३
चन्द्रौटा , ५ असार ।
कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा रहेको छ– राष्ट्रिय माध्यमिक विद्यालय । विद्यालयको प्राङ्गण अन्य दिनभन्दा निकै पृथक् देखिन्थ्यो । विद्यालयको आँगनमा रङ्गिन स्टलहरू सजिएका थिए । जहाँ कक्षा १० का विद्यार्थीहरूको अनुहारमा उत्साह र जिम्मेवारीको चमक बोकेर आ–आफ्ना परिकारहरू खाजा महोत्सवको रूपमा सजाइएका थिए ।
विद्यार्थीहरूले श्रम र सीपको महत्त्व बुझ्ने उद्देश्यले महोत्सवको आयोजना गरेको विद्यालयले जनाएको छ ।
उद्यमशीलता चुनौती परियोजना अन्तर्गत गरिएको यस अनौठो र जीवनोपयोगी गतिविधिले अध्ययनको सीमित कोठा बाहिर विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरेको छ । तीन समूहमा विभाजित विद्यार्थीहरूले १३ प्रकारका स्वादिष्ट परिकारहरू तयार पारी प्रदर्शन गरेका हुन् । ती विद्यार्थीहरूले आफैँले बनाएका परिकारहरू बिक्री समेत गरेका राखे । प्रत्येक समूहले आ–आफ्नो जिम्मेवारी अनुसार परिकार बनाउने, त्यसलाई सजाउने, मूल्य निर्धारण गर्ने र बिक्री गर्ने काम आफैँले सम्हालेको विद्यार्थी निर्जला राना बताइन् । उनका अनुसार स्टलहरूमा मम, चटपट, आलु चिप्स, घोंघी, ढिकरी परिकार, समोसा, रोष्ट, गुलाब जामुन, दही पुरी, आलु दम, फिङ्गर चिप्स, चाउमिन जस्ता स्वादिलो परिकारहरूको रमाइलो विविधता देखिन्थ्यो ।
अर्का विद्यार्थी सङ्गीता थारुले भनिन्: “हामीले परिकार बनाउने मात्र होइन, ग्राहकसँग व्यवहार कसरी गर्ने भनेर पनि सिक्यौँ । यो हाम्रो लागि नयाँ तर उपयोगी अनुभव हो ।” यस्ता महोत्सवको आवश्यक रहेको बताउँदै आम्दानी, रोजगारी र उद्याशील कसरी बन्ने लगायत व्यवहारिक शिक्षासँगै ज्ञान सीप पाएकोमा उनले हर्ष व्यक्त गरिन् । यस्तै विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित राख्न नचाहेको बताए । उनीहरूलाई व्यवहारिक जीवनका सीप सिकाउने यस्तो कार्यक्रमले उनीहरूमा आत्मविश्वास बढाएको उनको भनाइ छ ।
खाजा महोत्सव स्वाद मात्र नभएर भविष्यको सम्भावनाको अनुभव पनि बनेका शिक्षक सीताराम चौधरीले बताए । उनका अनुसार परिकारको तयारीदेखि बजारीकरणसम्म विद्यार्थीले गरेका सबै कामहरू उनीहरूका लागि जीवनका पाठ थिए–जुन कुनै पाठ्यपुस्तकमा भेटिन्न । जिविकोर्पाजन गर्दै दैनिकीलाई कसरी सहज बनाउने भन्ने विद्यार्थीले सिकेको शिक्षक भबिलाल भण्डारीले बताए ।
यिनै युवा हातहरू, जसले यो दिन चाउचाउको थालमा कल्पनाको मिठास राखेका विद्यार्थीहरू भोलिका उद्यमी बन्न सक्ने सम्भावना रहेको अर्की शिक्षक सरिता शर्मा बताउँछन् । यस्तै महोत्सवको व्यवस्थापनमा खटिएर विद्यार्थीहरूको क्षमतालाई उद्यममा प्रोत्साहन दिने सघाएको शिक्षक विष्णु भण्डारीले बताए । समुदाय र विद्यालयबिचको यस्तो सहकार्यले शैक्षिक गतिविधिलाई अझै फलदायी बनाउने सम्भावना उजागर गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत् पौडेलले बताए ।
यता नगरप्रमुख अजय थापा स्वयम् महोत्सव अवलोकन गर्न पुग्दा विद्यार्थीहरू निकै उत्साहित भएको बताए । विद्यार्थीले देखाएको आत्मबल र सृजनशीलताको प्रशंसा गर्दै उनले भने-ः“यस्ता अभ्यासले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्ने बाटोमा डो¥याउँछ, जुन हाम्रो भविष्यका लागि अत्यन्त जरुरी छ ।” सैद्धान्तिकसँगै अतिरिक्त व्यवहारिक ज्ञान पनि हुनु आवश्यक रहेको उनको भनाइ छ ।