Butwal Today

मितेरी बचत ठगीमा संलग्न ज्योति बहादुर भण्डारीमाथि पासपोर्ट नक्कलीकरण मुद्दा

५ असार २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

कम्बोडियाबाट पक्राउ परेका ज्योति बहादुर भण्डारीमाथि नागरिकता र पासपोर्ट किर्ते गरेको आरोपमा पनि अनुसन्धान थालिएको छ।भण्डारीलाई मितेरी बचतको रकम अपचलन गरेको आरोपमा पक्राउ गरिएको थियो। प्रहरीले दिएको जानकारी अनुसार, उनीसँग दुई वटा फरक नागरिकता नम्बर र जन्मस्थान भएका पासपोर्ट फेला परेका छन्।

एआईजी चन्द्रकुवेर खापुङका अनुसार, भण्डारीले बर्दिया र कास्की जन्मस्थान भएका नागरिकता नम्बर प्रयोग गरेर ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनले फेसबुक र ह्वाट्सएपमा फरक नाम प्रयोग गरी ठगी गर्ने गरेको पनि खुलेको छ।

त्यसैगरी, उनीविरुद्ध काठमाडौं प्रहरी परिसरमा तीन वटा ठगी मुद्दा दर्ता भइसकेका छन्, र ती मुद्दामा उनी फरार थिए।

मितेरी सहकारीमा भएको ३ करोड ४४ लाख रुपैयाँ ठगीमा पनि भण्डारी संलग्न रहेको देखिएको छ। यससँगै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्व पत्नी ज्योति गुरुङमाथि पनि अनुसन्धान भइरहेको छ।

मितेरी सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकबाट १४ करोडभन्दा बढी रकम ठगी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ज्योति गुरुङ फरार रहेकी छिन् र उनीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको छ। पक्राउ परेका भण्डारीमाथि पनि रेड नोटिस जारी गरिएको थियो र उनलाई बिहीबार काठमाडौं ल्याइएको छ।