© २०२३
पाल्पा, ५ असार ।
स्थानीय प्रशासनले मनसुनजन्य विपत्बाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय सरकारलाई नै जिम्मेवार बनाएको छ ।
जिल्ला विपत् व्यवस्थापन समितिका सभापति तथा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बसेको सर्वपक्षीय बैठकले स्थानीय सरकारलाई बढी नै जिम्मेवार बनाएको हो । मनसुनी वर्षाका कारण हुने क्षतिको न्यूनीकरण मात्र नगरी मानव सिर्जित कारणले हुने क्षतिप्रति पनि संवेदनशील हुनका लागि सर्वपक्षीय बैठकले आह्वान गरेको छ ।
विशेष गरी वर्षात्का समयमा अन्न भण्डारका रुपमा चिनिने माडी फाँट तिनाउ नदीको कटान र डुवानका कारण गत वर्ष ठुलो क्षति भयो । यस वर्ष यस्ता क्षति कम गर्न प्राविधिकको नापजाँच अनुरुप नदीजन्य वस्तु उत्खनन् गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए ।
बुटवल–तानसेन सिद्धार्थ राजमार्ग हो । वर्षातमा पहिरोको कारण सडक अवरुद्ध हुने भएका कारण सडक डिभिजन कार्यालय संग समन्वय गरी ३ स्थानमा डोजरको व्यवस्थापन गर्ने, वर्षात् सुरु भएपछि अत्यावश्यक बाहेकका सवारीका साधन रातको समयमा गुड्न नदिने ट्राफिक प्रहरीले पनि सवारी चेक जाँचको क्रममा यस्ता जोखिम भएका स्थानमा सवारीका साधन रोकेर चेक जाँच गर्ने निर्णय गरिएको छ ।
विपत् प्रतिकार्य योजनामा सरोकारवाला निकाय, स्थानीय तह, समुदाय बढी जिम्मेवार हुनु पर्ने र आगामी आर्थिक वर्षका लागि स्थानीय तहले वजेट निर्माणको तयारी गर्ने समय भएकाले विपत्लाई पनि मुख्य प्राथमिकतामा राख्न स्थानीय तहलाई सुझाव दिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।
दसवटा स्थानीय तह मध्ये सबैले अत्यावश्यक वस्तु सहित वर्षात्मा सडक अवरुद्ध भए अवरुद्ध सडक खुलाउन डोजर तयारी अवस्थामा राख्न पनि स्थानीय तहलाई आग्रह गरिएको समितिका सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले बताए ।
वर्षात्का समयमा तिनाउ गाउँपालिकाको दोभान, डुम्रे सहित चुरे क्षेत्र मनसुनजन्य विपत्को उच्च जोखिममा रहेको जनाइएको छ ।
गत आर्थिक वर्षमा मनसुनजन्य विपत्का कारण १ सय १६ पटक सडक अवरुद्ध, खोलाले बगाउँदा २ महिला र १ पुरुषको मृत्यु भएको थियो । जिल्लाभर ५० वटा घरमा क्षति भएको थियो ।