© २०२३
गुल्मी, ०५ असार ।
जिल्लाको सत्यवति गाउँपालिका –८ भार्र्षेका यम बहादुर थापा यति बेला व्यावसायिक रूपमा किवी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रूपमा कोदो र मकै उत्पादन हुँदै आएको थापाको बारी यति बेला किवीका बोटहरूले ढपक्कै ढाँकेको छ । किवी खेती गरेर थापाले वार्षिक ६ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएका छन् ।
५५ वर्ष उमरेका थापा कृषक मात्र नभएर जनप्रतिनिधि पनि हुन । सत्यवती गाउँपालिका –८ का वडा सदस्य थापाले गत ११ वर्षदेखि किवी खेती गर्न सुरु गरेका हुन् । उनले आठ रोपनी जग्गामा किवी खेती गर्दै आइरहेका छन् । थापाको बारीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो, मोन्टी र रेड गरी ६ जातका किवीका जातहरू छन् ।
जलवायु र भौगोलिक संरचनाको हिसाबले भार्षे किवी खेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उनले गत वर्ष चार लाखको किवी र दुई लाखको किवीका बिरुवा बिक्री गरेको बताए । तीन वर्षबाटै किवीले उत्पादन दिन थालेपछि थापालाई किवी खेती गर्ने उत्प्रेरणा जागेको हो । एउटै बोटमा ५० देखि एक क्विन्टलसम्म किवी फल्ने गरेको छ । उनको बारीमा अहिले एक सय ५० वटा किवीका बोटहरू रहेका छन् ।
सुरुमा थापाले तार, पाइप र पोल बनाउनका लागि आठ लाख रुपैयाँ खर्चेर व्यावसायिक रूपमा किवी खेती गर्न सुरु गरेको बताए । “त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहु वर्षीय भएको कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु,” उनले भने । किवीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने उनको अनुभव छ । “वर्षमा दुई पटक हाँगाहरू काँटछाँट गर्नुपर्छ, गोठे मल मात्र प्रयोग गर्दै आएको छु, त्यसै अनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ,” थापाले बताए ।
उनले उत्पादन गरेको किवी बजारमा दुई सय रुपैयाँदेखि तीन सय रुपैयाँसम्ममा बिक्री हुने गर्दछ । भार्षेको किवी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ । उनले किवीलाई प्रशोधन गरेर वाइन बनाउन सुरु गरेका छन् । किवीलाई बजारको खासै समस्या नभएको थापाले बताए । थापाले पाँच वर्षदेखि किवीको नर्सरी समेत गर्दै आइरहेका छन् । उनको नर्सरीमा यति बेला आठ हजार किवीका नयाँ बिरुवाहरू छन् । एउटा बिरुवालाई एक सय ५० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म पर्दछ ।
सत्यवती गाउँपालिकाले भार्षेलाई किवीको पकेट क्षेत्र घोषणा गरी कृषकहरूलाई उत्प्रेरित गर्दै आएको छ । किवी खेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकता अनुसारको तालिम, टनेल, नर्सरी तथा विरुवामा अनुदान उपलब्ध गराउँदै आएको सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताएका छन् ।
किवीका अन्य जातहरूमा सबै भन्दा राम्रो गोल्डेन र रेड किवी राम्रो मानिन्छ । यसको मूल्य अन्य जातको किवीको भन्दा एक सय रुपैयाँ बढी पर्दछ । भार्षेमा पाँच वटा किवी समूहहरूमा ८० जना कृषकहरू आबद्ध बनेका छन् । यस क्षेत्रमा एक जना कृषकले दश वटा बोटदेखि एक सय ५० बोटसम्म किवी लगाएका छन् । भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किसानहरूले व्यावसायिक रूपमा किवी खेती गर्दै आइरहेका छन् ।