© २०२३
नेपालगञ्ज, ५ असार । बाँके जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । जिल्लाभरका लक्षित वालवालिकालाई नियमित खोप सेवा पुगेको प्रमाणसहित बिहीवार नेपालगञ्जमा आयोजित औपचारिक कार्यक्रममा यसबारे घोषणा गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रत्न खत्रीले बाँकेलाई पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरे ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले जिल्लाभित्र खोपबाट छुटेका ६४६ जना बालबालिकालाई खोप सेवा उपलब्ध गराएपछि यो उपलब्धि हासिल भएको जानकारी दिए । उनका अनुसार, जन्मेदेखि १५ महिनासम्मका १२,९३७ जना बालबालिका, र १६ महिनादेखि २३ महिनासम्मका ९,५१३ जना वालवालिकालाई नियमित खोप सेवा उपलब्ध गराइएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले वालवालिकालाई रोगबाट जोगाउन नियमित खोप सेवा अति आवश्यक रहेकोमा जोड दिइन्। उनले दिगोपनालाई निरन्तरता दिन सबै पक्ष सक्रिय हुनुपर्ने धारणा राखिन् ।
सांसद सुशिला नेपालीले पूर्ण खोप दिगोपना अभियानलाई प्रभावकारी बनाउन आफू सदैव तयार रहने प्रतिबद्धता जनाइन् । यस्तै सांसद अम्बिका काफ्लेले खोप पहुँचले शिशु मृत्युदर न्यूनीकरणमा ठूलो प्रभाव पार्ने भन्दै यसमा कुनै कसर बाँकी नराख्न स्वाथ्यसंस्थालाई आग्रह गरिन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले पूर्ण खोप सुनिश्चितता कायम राख्न स्थानीय सरकारको निरन्तर सहयोग रहने स्पष्ट पारे । पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख तथा खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
‘पूर्ण खोप सुनिश्चितता’ भन्नाले सबै लक्षित उमेर समूहका बालबालिकाले समयमै सम्पूर्ण नियमित खोप प्राप्त गरेको अवस्था जनाउँछ । बाँकेले यो मापदण्ड पुरा गर्दै दिगोपनासहितको उपलब्धि हासिल गरेको हो, जुन प्रदेश तथा संघीय सरकारका लागि पनि नमूना अभ्यास बन्न सक्छ ।